तराईमा जन्मेर पहाडको बाँझोमा नर्सरीसंगै अगरउड खेती (भिडियो)

Image

डडेल्धुरा । वि.स.२०२६ सालमा जन्मिएका कृष्णदत्त भट्ट हाल डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत छन । तराईमा जन्मिएका भट्टले आफ्ना बुवाबाजेको थातथलो अजयमेरु गाउँपालिका ३ भद्रपुर नजिकै पल्लि सिरोली भन्ने स्थानमा ठूलो नर्सरी स्थापना गरि विभिन्न जडिबुटीका विरुवा हुकाई रहेका छन । उनको नर्सरीमा हाल १५ हजार बोधिचित्तका विरुवासंगै श्रीखण्ड, रुद्राक्ष तिमुर, दालचिनि, बकाईनोलगायत गैरकाष्टमा बाँसका विरुवा हुर्कि रहेका छन ।

बुवाका पालादेखि बाँझो रहेको जमिनमा उनले नर्सरीसंगै अगरउड, बोधिचित्तका सयौं विरुवा रोपेका छन भने ठूलो बाख्राको खोरसमेत बनाई बाख्रा पालन गर्दै आईरहेका छन । गत वर्षको बर्खामा एक हजार ६०० बोट अगरउड र २५० बोट बोधिचित्तको रोपेको उनले बताए । यस वर्ष एक हजार बोट रोप्ने योजना रहेको उनले बताए । वर्षमा २०० माउ बाख्रा पाल्ने लक्ष्य रहेको उनले सुनाए । २०० माउ बाख्रा पाल्दा एक वर्षमा ५०० पाठापाठी बेच्न मिल्ने उनले बताए ।

बाख्रा पालनका लागि विभिन्न जातका १० हजार विरुवा डाले घाँसका रोपेको उनले बताए । मौरी पालनको पनि योजना रहेको उनले बताए । आँप, लिचि, चिउरीलगायत तातो क्षेत्रमा हुने सबै रुख विरुवा हुर्कने भएकाले मौरी पालनको पनि योजना रहेको उनको भनाई छ ।

आजभन्दा ३० वर्ष अघि आफ्नो पुख्यौली घर घुम्न आएका भट्टले करिब ३०० रोपनी जमिन एकलौटी भएको थाहा पाए । उक्त जमिनमा सल्ला मात्रै देखेपछि नर्सरी देखि अरु काम गर्ने सोच पलाएको उनले बताए । बाँझो जमिनको सदुपयोग गरौ भनि लागिएको हो । उनले भने, यसले अरुलाई पनि सिकाई हुन्छ ।

जागिर सकिएपछि के गर्ने ? भन्ने सोच पनि पलायो । उनले भने, मैले केही राम्रो गर्न सकेपछि छोराहरुपनि स्वदेशमै राम्रो गरेर बस्न सक्छन । यसबाट एक सिकाई पनि हुन्छ । वार्षिक १०-२० लाख गाउँमै कमाउन सके विदेश जाननपर्ने उनको बुझाई छ ।

नर्सरीलगायत बारी स्थापनाका लागि तीन वर्ष पहिले १६ लाख रुपियाँ लागत लागेको उनले बताए । पछिल्ला वर्षहरुमा नर्सरीबाट बोटविरुवा र बाख्रा बिक्रिबाट हुने आम्दानीबाट नै खर्च चलिरहेको उनले बताए । उनको नर्सरीबारी र बाख्रा खोरमा हाल पाँच जनाले रोजगारी पाएका छन ।