दार्चुला । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत तीन महिनादेखि विकास समितिविहीन अवस्थामा छन् । त्यसले गर्दा अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ ।
अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न नसकिएको अस्पतालका प्रमुख डाक्टरको भनाइ छ । सुदूरपश्चिममा सेती र महाकाली प्रादेशिक अस्पताल नेतृत्वविहीन छन् ।
यस्तै दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा र डोटी जिल्ला अस्पताल नेतृत्वविहीन छन् भने कैलालीको टीकापुरमा रहेको जिल्लास्तरको हैसियत भएको टीकापुर अस्पताल पनि नेतृत्वविहीन रहेको सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सा सेवा महाशाखाका प्रमुख चेतराज जोशीले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले जिल्ला अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गर्ने वा नगर्ने भन्ने विषयमा छलफल चलिरहेको बताईन । विकास समितिले राम्रो काम ग¥यो कि नराम्रो गरिरहेको छ, समिति आवश्यक हो कि होइन भन्ने विषयमा छलफल चलिरहेको उनले बताईन । सो विषयमा अहिले मन्त्रालयमा मात्रै छलफल भएको र यसपछि प्रदेश सभामा छलफल गरेर अन्तिम निष्कर्ष निकालिने उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेका अस्पतालमा चैत अन्तिम सातादेखि विकास समितिविहीन भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर सञ्जीव श्रेष्ठले जानकारी दिए । विकास समिति नहुँदा समितिबाट गराउनुपर्ने नीतिगत निर्णय, समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने कुरामा कठिनाइ भइरहेको उनले बताए ।













