साँदनी खोलामा फसेका दुई महिलाको उद्दार गर्यो सशस्त्र प्रहरीले

Image

डडेल्धुरा । साँदनी खोलामा फसेका दुई महिलाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । भित्रिमधेश क्षेत्र चुरेको परशुराम नगरपालिका–७ स्थित साँदनी खोलामा फसेका दुई महिलाको बुधबार सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको हो ।

बुधबार मध्यान्ह करिब १२ बजेको समयमा अत्यधिक वर्षा हुदा खोलामा एक्कासी बाढी आएको थियो । खोला तर्दै गर्दा खोलामा बाढी आएपछि १२ वर्षीया रितु भारती र २५ वर्षीया भुवनेश्वरी सिंह खोलाको बीच भागमा अड्किएका थिए । गाईबाख्रा चराउन गएका बेला उनीहरू खोलाको बीच भागमै बाढीले घेरेर फसेका थिए ।

घटनाको जानकारी पाए पछि सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म डडेल्धुराले तत्काल उद्दार टोली परिचालन गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक साजेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बीओपी तातापानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक दीपक खड्काको कमाण्डमा ७ जनाको टोली र बीओपी साँदनीबाट सशस्त्र प्रहरी नायब निरीक्षक चेतन रास्कोटीको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो । टोलीमा चार जना विपद् व्यवस्थापन तालिमप्राप्त भएको उनले बताए ।

१२ जनाको समन्वित टोलीले जोखिम मोलेर सुरक्षित रूपमा दुवै महिलाको उद्दार गरेको हो । उद्दारमा नेपाल प्रहरीको पनि सहभागीता थियो ।