बाजुरा । सुन्दर अनि धार्मिक आस्थाको धरोहर बडीमालिकामा प्राचिन शैलीको नयाँ मन्दिर निर्माण गरिएको छ । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको पुनर्निर्माण गरि नयाँ बनाउने काम सम्पन्न गरेको छ। समुद्री सतहबाट करिब ४,२२० मिटर उचाइमा मल्लागिरी पर्वत क्षेत्रमा अवस्थित यो मन्दिर ऐतिहासिक, पुरातात्त्विक र धार्मिक दृष्टिकोणले नेपालकै एक प्रमुख आस्थाको केन्द्र मानिन्छ ।

मन्दिरको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको उद्देश्यसहित सेनाले २०८१ चैत २८ गते पुनर्निर्माण कार्य सुरु गरिएको थियो। करिब दुई महिनामा निर्माण कार्य पूरा गर्दै २०८२ असार २३ गते मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । निर्माण अवधिभर पनि मन्दिर श्रद्धालुहरूको लागि खुला नै राखिएको थियो ।

पुनर्निर्माण कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौं संशोधन)को परिधिभित्र रही, पुरातत्त्व विभागको स्वीकृत डिजाइन र प्राविधिक सहयोगमा तथा परम्परागत निर्माण सामग्रीको प्रयोगसहित मन्दिरको मौलिक स्वरूप जोगाउँदै सम्पन्न गरिएको हो । त्रिवेणी नगरपालिकाको समन्वयमा काम गरिएको थियो ।

रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय, पुरातत्त्व विभाग, भक्तपुर–ललितपुरका दक्ष कालिगढहरू र स्थानीय समुदायको सहकार्यमा कठिन भूगोल, प्रतिकूल मौसम र ढुवानीको समस्याबीच समन्वयात्मक ढंगले कार्य सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ।

बडीमालिका मन्दिर सुदूरपश्चिमका हिन्दू भक्तजनमाझ मात्र नभई सम्पूर्ण नेपालीहरूको आस्था र धार्मिक विश्वासको केन्द्रको रूपमा चिनिन्छ । पुनर्निर्माणले धार्मिक पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।













