डडेल्धुरा । डडेल्धुरा जिल्ला १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पहिलो पटक २०७२ साल पुस १० गतेका दिन डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । त्यस यता प्रत्येक वर्ष १६ महिना देखि ५ वर्ष मूनीका सबै बालबालिकाहरु लाई खोप लगाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै आएको छ ।
शनिबार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काको प्रमूख आतिथ्यमा डडेल्धुरालाई १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख केशर साउदले जानकारी दिए । उनका अनुसार डडेल्धुरामा हाल १०६ वटा खोप केन्द्रहरुबाट प्रत्येक महिनाको २ गते देखी ८ गतेसम्म नियमित खोप सेवा प्रवाह गरिदै आएको छ ।
कार्यालय प्रमुख साउदका अनुसार गत माघ महिनाबाट सुरु भएको घरधुरी सर्वेक्षणमा १५ महिना सम्माका जम्मा दुई हजार ३८३ जना बालबालिकाहरु मध्ये तीन जना शुन्य डोज २७ जना केही न केही खोप छुट भएको पाईएको थियो । १६ महिना देखि ५९ महिनासम्मका सात हजार ५२० जना बालबालिकाहरु मध्ये तीन जना शुन्य डोज र ७० जना केही न केही खोप छुट भएका बालबालिका भेटिएका थिए । खोप छुट भएका बालबालिकाहरु लाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप लगाई खोप महिनाका रुपमा मनाईएको थियो ।
घोषण कार्यक्रममा प्रत्येक स्थानीय तहबाट एक/एक जना उत्कृष्ट खोप कार्यकर्ता, उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्य कार्यालयका उत्कृष्ट कर्मचारीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो ।











