डडेल्धुरामा ९५ प्रतिशत रोपाई सम्पन्न

Image

डडेल्धुरा । असार १५ अर्थात धान दिवसका दिन सम्म ६० प्रतिशत रोपाई भएको डडेल्धुरामा मसान्तसम्म ९५ प्रतिशत रोपाई सम्पन्न भएको छ । ६ हजार १ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने यस जिल्लामा हालसम्म ९५ प्रतिशत रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । उनका अनुसार यो क्षेत्रफल मध्ये २० प्रतिशत अर्थात एक हजार २२४ हेक्टरमा छरुवा घैया धान लगाईन्छ भने बाँकी ८० प्रतिशत अर्थात चार हजार ८९६ हेक्टर क्षेत्रफलमा धान रोपाई गरिन्छ ।

यस वर्ष चैत महिनादेखि नै नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनकासाथै सिँचाइ नहुने जमीनमासमेत रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण प्रायः जसो ठाउँमा रोपाइँ सम्पन्न भएको हो ।

डडेल्धुराको भित्रीमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका, आलितालगाउँपालिकामा मुख्य रुपमा धान रोप्ने गरिन्छ । यसैगरी भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षे बालीका रुपमा धान रोप्ने गरिन्छ ।

यो वर्ष समयमै रोपाइँ भएका कारण धान उत्पादनमा बृद्धि हुने विश्वास लिइएको कार्यालय प्रमुख पनेरुले बताउनुभयो । यस जिल्लामा गत वर्ष ६ हजार १२० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट २० हजार ४२० मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको उत्पादकत्व ३.३४ मेट्रिकटन प्रति हेक्टर थियो ।