डडेल्धुरा । जिल्लाको करिब आधा जनसंख्या रहेको भित्रिमधेशको जोगबुडा इलाका प्रशासन कार्यालयको कामकाज महिनौँदेखि ठप्प छ । ईलाका प्रशासन कार्यालय प्रमुख प्रशासकीय अधिकृत विहिन हुद कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकिय अधिकृत नहुँदा स्थानीयहरू आधारभूत सेवाबाट वञ्चित भएका छन । कार्यालय प्रमुख विहिन हुदा नागरिकता प्रमाणपत्र, राहदानी सिफारिस, जग्गा सिफारिसलगायतका अतिआवश्यक काम ठप्प भएका हुन । सेवा ग्राहीले सास्थी खेप्नु परिरहेको छ ।
सेवाग्राहीहरूले सानो कामका लागि पनि एक दिनको बाटो भएर जिल्ला सदरमुकाम डडेल्धुरा धाउनुपर्ने बाध्यता आईलागेको छ । कार्यालयमा हाल सीमित कर्मचारी मात्र छन । उनीहरुले राष्ट्रीय परिचयपत्र वितरण र पत्राचार जस्ता काम बाहेक अरु प्रशासनिक काम गर्न सकिरहेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमले रिक्त पद चाँडै पूर्ति गर्ने प्रयास भइरहेको बताए । उनका अनुसार मन्त्रालयलाई दैनिक रूपमा कर्मचारी पठाइदिन आग्रह गरिए पनि अहिलेसम्म सुनुवाइ भएको छैन । ‘मन्त्रालयले कर्मचारी पठाउने आश्वासन दिएको छ । उनले भने, तर कहिले पठाउने भन्ने टुंगो छैन ।’
गत असार २२ गते एक महिनाका लागि नायब सुब्बा राम बाबू बराललाई काजमा पठाइएको थियो । उनी अहिलेसम्म कार्यालय उपस्थित भएका छैनन् । जसले गर्दा सेवा ग्राही मर्कामा छन । अहिले आर्थिक वर्षको पहिलो महिना भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरणलगायत कामहरूमासमेत अवरोध भएको स्थानीयको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकताको सिफारिस रोकिएको परशुराम नगरपालिका–१२ का वडा अध्यक्ष महावीर कामीले बताए । आपतकालीन अवस्थामा मात्रै सदरमुकामबाट सिफारिस गर्ने गरिएको भए पनि धेरैको काम अलपत्र परेको उनले जानकारी दिए ।











