डडेल्धुराको चुरोमा ड्रागन फ्रुटको ठूलो बगैँचा स्थापना

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो ड्रागन फ्रुटको बगैँचा डडेल्धुराको चुरे पर्वतमा स्थापना भएको छ । ड्रागन फल र विरुवा निर्यात गर्न आलिताल गाउँपालिका ४ चुडापानीमा रहेको बाँझो जमिनमा ५०० बढी विरुवा रोपिएका छन । स्थानीय कर्ण बहादुर बोहराले यस अघि २०० विरुवाबाट यसै वडाको जालटुडामा ड्रागन फलको खेती सुरुवात गरेका थिए । उनले रोपेको ड्रागनको बोटले डेढ वर्षमै फल दिन सुरु गरेपछि यस वर्ष बाँझो रहेको जमिनमा ५०० बढी विरुवा रोपिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कृषि ज्ञान केन्द्र डडेल्धुराले किसान कर्ण बहादुर बोहरालाई ५०० ड्रागनका विरुवा, थाक्रा र मलमा सहयोग गरेको छ । पहाडी जिल्लामै ठूलो र नमुना बगैँचा स्थापना गर्ने लक्ष्यकासाथ तीन लाख ६२ हजार रुपियाँ सहयोग गरेको उनले बताए । बाँझो जमिनमा १० लाख रुपियाँ खर्च गरि कलश कृषि पशुपंघि तथा नर्सरी बगैँचा स्थापना गरिएको उनले जानकारी दिए ।

ड्रागन फल र विरुवा बाहिरी जिल्लाहरुमा निर्यात गर्ने मुख्य उद्देश्य रहेको कार्यालय प्रमुख पनेरुको भनाई छ । ड्रागन फल नविनतम भएको र यसफललाई डाईबेडिज, सुगर, प्रेसरलगायतका दिर्घ रोगको संक्रमण भएकाहरुले खोजी खोजी उपभोग गर्ने भएकाले नमूना बगैँचा बनाउने कृषि ज्ञान केन्द्रको योजना रहेको उनले बताए ।

व्यवसायीक रुपमा हालसम्म आलिताल गाउँपालिकामा मात्रै ड्रागन फलको खेती भएको उनले जानकारी दिए । उनका अनुसार नमूना प्रदर्शनका लागि अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा गरि करिब २० जना कृषकले खेती गरिरहेका छन ।