राष्ट्रिय विभुती अमरसिंह थापाको स्मृती दिवस भव्य रुपमा देशैभर मनाईदै

Image

डडेल्धुरा । आधुनिक नेपाल एकिकरणका वी योद्धा राष्ट्रिय विभुती सेनापती बडाकाजी अमरसिंह थापाको स्मृती दिवस भव्य रुपमा देशैभर मनाईने भएको छ । पूर्वको टिष्टा देखि पश्चिमको काँकडासम्म नेपाल एकिकरणका कमाण्डर रहेका थापाको शुक्रबार २०९औँ स्मृती दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईने भएको हो । बडाकाजी थापाको जन्म वि.स. १८०८ मा गोरखाको सिरानचोकमा भएको थियो ।

हाल सिरानचोक गाउँपालिका रहेको यस स्थानीय तहले शुक्रबार अर्थात साउन १६ गते थापाको स्मृती दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । सिरानचोक गाउँपालिका ६ मा अवस्थित अमरसिंह पार्कमा गोरखा अमरसिंह नगर पर्यटनले मौलिक कला संस्कृति, परम्पराको संरक्षण र सम्बद्र्धनसहितको कार्यक्रमको आयोजना गर्न लागेको राम बगले थापाले जानकारी दिए ।

शुक्राबार देशभरि राष्ट्रव्यापी रूपमा बिबिध कार्यक्रमको आयोजना गर्दै थापाको स्मृती दिवस मनाईन लागेको उनले बताए । उनका अनुसार संघिय राजधानी काठमाडौंको ठमेल स्थित त्रिदेवि मन्दिर परिसदमा पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरिदै छ ।

यसैगरि पश्चिम तर्फको भूभाग एकिकरणका बेला डडेल्धुराको खलंगा पुगेर कमाण्डर बनेका थापाले ऐतिहांसिक अमरगढी किल्लाको निर्माण गरेका थिए । हालसम्म पनि जिउदो किल्लाका रुपमा रहेको उक्त किल्ला ठूला ढुंगा र काठले सिंहको टाउको आकारमा निर्माण गरिएको थियो । जिल्ला सदरमुकामा उनकै नामबाट अमरगढी नगरपालिका नामाकरण गरि नगरपालिका स्थापना गरिएको थियो । अमरगढी नगरपालिकाले अमरगढी किल्लामा विभिन्न कार्यक्रमको आयोजना गरि स्मृती दिवस मनाउने जनाएको छ ।

यस्तै झापा जिल्लाको दमकमा अवस्थित अमरचोक, कास्कि जिल्लाको बक्रेक पोखरा, भक्तपुर, सर्लाही जिल्लाको धरहरा र बागलुङ जिल्लाको अमरसिंह पर्यटन पद मार्ग गल्कोट बिबिध कार्यक्रमको आयोजना गर्दै स्मृती दिवस मनाईने भएको छ ।

आधुनिक नेपाल एकीकरणका बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आफ्ना विश्वासी गोरखा सिरानचोकका सैनिक उमराव भीमसिंह थापाको साथ–सहयोगमा वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण गरी एकीकरण अभियानको बीजारोपण गरेका थिए । गोरखाली फौजले वि.सं. १८१४ मा कीर्तिपुरमाथि आक्रमण गर्दा भीमसिंह थापाले विपक्षी सेनामाथि बाघले झम्टेजस्तो वीरतापूर्वक लडाँई लडेको हुँदा पृथ्वीनारायण शाहले उनलाई ‘बाघ’ उपाधि दिए । पछि १८१६ पुसमा पृथ्वीनारायण शाहले बाघ भीमसिंह थापालाई ‘सरदार’ पद दिएर गोरखाली सेनाको एक टोली सुम्पिई तत्कालीन भादगाउँ राज्य अन्तर्गतको काभ्रेपलाञ्चोक गढीमा आक्रमण गर्न पठाए ।

गोरखाली सेनाले वि.सं. १८१६ मा गरेको विजयस्थल पलाञ्चोकगढीमा विपक्षतर्फको सैनिकद्वारा सरदार भीमसिंह थापालाई पछाडिबाट झुक्याएर गोली हान्दा उनीले वीर गति प्राप्त गरे । यसरी पृथ्वी–बाघ भीमसिंह आधुनिक नेपाल एकीकरण अभियानको पहिलो चरण पूरा भएको थियो ।

बाघ भीमसिंह थापा क्षेत्रीका छोरा अमरसिंह थापा क्षेत्री हुन । उनी ११ वर्षको उमेरमा वि.सं. १८१९ को गोरखाली–मकवानपुरे युद्धका जेठा बुढाको पूर्वावस्थाका रूपमा रही प्रत्यक्ष युद्धदर्शी थिए । १८२५ आश्विन १३ मा कान्तिपुर राज्यलाई विजय गरेपछि भोलिपल्ट १४ गते पृथ्वीनारायण शाहले अमरसिंह थापालाई ‘सरदार’ पदवी प्रदान गरे । त्यसपछि पृथ्वी–अमर एकीकरण अभियान कान्तिपुरदेखि पूर्वी नेपालतर्फ अगाडि बढ्यो ।

सरदार अमरसिंह थापा लगायत नेतृत्वको नेपाली सेनाको फौजले १८२५ कात्तिक २९ मा भक्तपुरमाथि आक्रमण गरी विजय गर्‍यो । पृथ्वीनारायण शाहले वि.सं. १८२८ मा सरदार रामकृष्ण कुँवरको मातहतमा सरदार अमरसिंह थापालाई नायब गराई पूर्व चौदण्डी र विजयपुरतर्फ पठाए ।

सरदार अमरसिंह थापा लगायत नेतृत्वको नेपाली (गोरखाली) सेनाको फौजले वि.सं. १८३० को सुरुमै पूर्वतर्फ ओखलढुङ्गा चिसङ्खु हिलेछाप क्षेत्र, मझुवा, कुलुन, रिगलमाथि आक्रमण गरी आधुनिक नेपाल निर्माणका लागि एकीकरण सम्पन्न गर्‍यो । पृथ्वीनारायण शाहको मृत्यु वि.सं. १८३१ को माघे संक्रान्तिमा भएलगत्तै पृथ्वी–अमर आधुनिक नेपाल एकीकरण अभियान पूरा भयो ।