जोगबुडा–दैजी सडकको ३० करोड रकम फिर्ता, सडकको दुरावस्ता

Image

डडेल्धुरा । भित्रिमधेश क्षेत्र जोगबुडा र कञ्चनपुरको दैजि जोड्ने सकड खण्डको चुरेमा सडक मर्मत नहुदा भित्रिमधेशबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । जोगबुडाको अन्तिम पहाड न्वाली डाडाबाट दैजी क्षेत्र प्रष्ट देखिन्छ । आँखै अगाडी देखिने दैजि पुग्न भने त्यती सहज छैन । यस क्षेत्रको करिब चार किलोमिटर पार गर्न घण्टौ लाग्छ भने यात्रुबाहक जीप हिलोमा फस्दा डोरीले तान्ने र पछाडीबाट धकेल्नु पर्ने बाध्यता यात्रुहरुको छ ।

चुरे पहाडको भिरालो सतहको हिलोमा फसेका गाडी तान्दै, धकेल्दै यात्रा गर्दा दुर्घटनाको जोखिम उच्च छ । जोगबुडाबाट दैजीसम्मको दुरी करिब ३५ किमि मात्रै छ । तर जोगबुडाबाट–बुडर–अत्तरिया हुदै दैजी पुग्नुपरे १३५ किमि पर्दछ । दुई गुना छोटो सडक पर्ने भएकाले जोगबुडा क्षेत्रका स्थानीय महेन्द्रनगर लगायत धनगढीको यात्रा यही सडकबाट गर्ने गर्दछन ।

सडक विस्तारका लागि पर्याप्त बजेट विनियोजन भएपनि कार्यान्वयन हुन नसक्दा सडकको दुरावस्ता बनेको हो । सुदूरपश्चिम प्रदेशको गौरवको योजनामा पर्ने दैजी–जोगबुडा–डडेल्धुरा सडक सुधारका लागि आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारले ३० करोड रकम विनियोजन गरेको थियो । तर उक्त बजेट कार्यान्वयन नगरिदा फिर्ता भयो । सडकको अवस्था झनै दयनीय बन्दा यात्रुहरु जोखिमको यात्रा गर्न बाध्य छन ।

उक्त बजेट डडेल्धुरा सडक आयोजना अन्तर्गत डोटीको कुलपातेमा रहेको सडक डिभिजन कार्यालयलाई जिम्मा दिइएको थियो । तर, प्रदेश सरकारले यो सडकलाई ‘प्रदेश गौरवको योजना’ घोषणा गरिसकेकाले संघीय सरकारको काम गर्ने दायरा सीमित बन्यो । दैजि–गाईबाँधे–जोगबुडा–सलोन–चिकिट्टे–आईत–किर्तीपुर–पोखरा–बेलापुर नाम दिईएको यो सडकलाई बझांग जिल्ला भएर चिनसंग जोड्ने योजना प्रदेश सरकारको छ ।

यसको दैजि–बेतकोट खण्ड कालोपत्रे भईसकेको छ । अगाडी पनि काम बढाउने योजना छ । यसैगरी जोगबुडा–गाईबाँधे सडक खण्ड कालोपत्रे भईसकेको छ भने गाईबाँधे–न्वाली खण्ड पनि कालोपत्रे हुदै छ । दुई तिरबाट दुई वटा फरक फरक टेण्डरबाट काम हुदै छन । तर समयमा काम भने भएको छैन ।

संघिय सरबारबाट विनियोजित रकमले खासगरी सिउँडेबागदेखि लखनाखानसम्मको सडक खण्डमा नयाँ ठेक्का प्रक्रियाबाट सडक कालोपत्रेको काम अगाडि बढाउन सकिने अवस्था थियो । किनकी यस खण्डमा हालसम्म मर्मत, सुधार वा कालोपत्रेका लागि टेण्डर भएको थिएन । यद्यपि त्यसका लागि कुलपाते डिभिजनले कञ्चनपुर डिभिजनलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्दा विनियोजित रकम फिर्ता भएको सडक डिभिजन कुलपातेका कार्यालय प्रमुख रमेश भट्राईले बताए । यस कारण पनि यात्रुहरुले सास्तीपूर्ण यात्रा गर्न पर्ने बाध्यता आईलागेको छ ।

सम्बन्धित निकायले समन्वय नगर्दा बजेट फिर्ता गएसंगै यात्रु मारमा परेको स्थानीय केशव अवस्थीले गुनासो गरे । सरकारले पैसा हालि दिएको छ । उनले भने, कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुको वेवास्ताका कारण हजारौ यात्रुले सास्ति खेप्नुपरिरहेको छ ।