डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २०० वटा योजना सम्पन्न गरेको छ । गत आर्थिक वर्षमा गरेका योजना र बजेटको सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै नगरपालिकाले उक्त योजनाहरुमा ५५ करोड १६ लाख रकम खर्च भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि उपाध्यायले जानकारी दिए । उनका अनुसार ५६ करोड ५६ लाख रकम प्राप्त भएकोमा एक करोड १४ लाख रकम भने खर्च भएन । प्रतिशतका हिसाबले ९५ प्रतिशत बजेट खर्च भएको उनले बताए ।
गत आर्थिक वार्षमा नगरपालिकाका महत्वपूर्ण योजनाहरुमा अमरगढी ७ को उग्रतारा माविमा नमूना पूर्वाधारका योजना समपन्न, ऐतिहासिक अमरगढी किल्लामा पर्खाल र पक्कि बाटो निर्माण, सजावटमा ऐतिहासिक क्षेत्रका पेन्टिंग, वडा नं. ७ र ९ मा वडा कार्यालय निर्माण, वडा नं. ६ को छचोडा गाउँजाने सडक कालोपत्रेको सुरुवात र वडा नं. १ को मालम गाउँ जाने सडक पनि कालोपत्रेको सुरुवात भएको उनले जानकारी दिए ।
संघिय सरकारले नगरपालिका भित्र गरिरहेका ठूला भौतिक पूर्वाधार निर्माणका योजनाहरुमा डकले बसपार्क निर्माणका लागि सुरुवात, फोहोर मैला व्यवस्थापाका लागि शहरी विकास मन्त्रालयलबाट जग्गा खरिद गरि गरि ८३ करोड रकमको ठेक्का र खलंगा–टुडीखेल सडक कालोपत्रेको काम जारी रहेको, बागबजारमा ३० कोठे सिटीहल निर्माण अन्तिम चरणमा, चिन सरकारको बीआरआई योजना अन्तरगत आधुनिक भव्य सिटीहल निर्माणका लागि प्रक्रिया अघि बढेको र व्यवस्थित खेलमैदानका लागि मैदान खोदाईको काम भएको उनले बताए ।
उनका अनुसार विगतका वर्षमा आएको बेरुजु सम्प्रेषण गरिएको छ । बेरुजु रकम ५४ लाख मध्ये १७ लाख सम्प्रेषण गरिएको छ । विभिन्न कारणबस देखिने बेरुजु सम्प्रेषण गर्न सकिने भएकाले आवश्यक प्रक्रिया पुगाई बेरुजु सम्प्रेषण गरिएको उनको भनाई थियो ।
नगरपालिकामा बेरुजु बढ्दै गएको, गाउँवस्ति जोड्न सडक हिलाम्मे हुदा आवत जात गर्न कठिनाई भईरहेको, फोहोर व्यवस्थापन हुन नसकेको, छाडा पशुचौपाय व्यवस्थापन नहुदा सडक दुर्घटना बढेको, शैक्षिक नतिजा माथि उठ्न नसकेको, जिल्ला सदरमुकामको सडक विस्तार हुन नसकेको, नगर प्रमुख, प्रमुख प्रशासकिय अधिृकतको विदेश भ्रमण मोह, प्रमुखको क्वाटर भएपनि आफ्नै भाईको घर भाडामा लिई बसेको भन्दै नगरवासीहरुले जवाफ माग गरे ।
असुल उपर गर्नु पर्ने बेरुजु भनिएपनि सम्प्रेषण गर्न सकिने भएकाले गरिएको जानकारी प्रमुख प्रशासकिय अधिकृतले जवाफ दिए । आवश्यक बजेट अभावमा सडकमा ग्राभेल गर्न नसकिएको र प्रक्रिया अगाडी बढाईएको नगर प्रमुख दिल्लीराज जोशीले जावाफ दिए । फोहोर व्यस्थापनका लागि टेण्डर भए पनि स्थानीयले विरोध गरिरहेकाले काम गर्न केही असहज भएको उनको भनाई थियो । बागबजार–किर्तिपुर सडक विस्तारका लागि डेढ अर्व रकम बराबर माग गरिएको भएपनि ८० करोड पहिलो चरणमा प्राप्त हुने आश्वासन पाएको र भदौ महिनामा टेण्डर आह्वान गरिने उनले बताए ।
पहिलेका नगर प्रमुख बस्ने क्वाटरमा अहिले न्यायिक समिति, दम्कल, एम्बुलेन्सका चालक, माथिको तलामा प्रमुख प्रशासकिय अधिकृत बस्ने भएकाले बाहिर घर भाडामा लिई बसेको नगर प्रमुख जोशीले बताए । विभिन्न देश र संस्थाहरुको निमन्त्रणामा विदेश भ्रमणमा गएको जानकारी दिदै उहाँले नगरपालिकाको सेवा सुबिधा उपभोग नगरेको बताए ।
एसइइमा देशैभरको नतिजा राम्रो नआएको उल्लेख गर्दै शिक्षा शाखा संयोजक हेमन्त पन्तले अमरगढीको भने सन्तोष जनक आएको बताउनुभयो । जिल्लाका उत्कृष्ठ १० जना विद्यार्थीहरु मध्ये आठ जना अमरगढीका विद्यार्थीहरु रहेको जानकारी दिदै उहाँले अपेक्षा अनुसार नतिजा नआए पनि सुधारको क्रममा रहेको बताए ।











