पाँच वर्षमा खानेपानी पुग्यो, २५ लाख तिर्न बाँकी

Image
गन्यापधुरा गाउँपालिकाको मुकाम वडा नं. २ को गणेशपुर बडाल । तस्बिरः पुष्कर भण्डारी

डडेल्धुरा । महाभारत पर्वतमा अवस्थित गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा पाँच वर्षमा पर्याप्त पुग्ने गरि खानेपानी पुगाईएको छ । डोटी डडेल्धुराको जीवन रेखा नै रहेको महाभारत पर्वतको शिखरधुरा ताल क्षेत्रबाट १४ किलोमिटर लामो पाईप लाईन बिछाई वडा नं. २ गणेशपुर, बडाल क्षेत्रमा खानेपानी पुगाईएको हो । तर खानेपानी पुगाईए पनि काम गरेका मज्दुर र निर्माण सामाग्री खरिद वाफतको करिब २५ लाख रकम तिर्न बाँकी नै छ ।

बडाल क्षेत्रका करिब ५०० घर धुरीमा खानेपानी पुगाउने गरि २०७६ सालमा योजनाको सुरुवात भएको थियो । जुन गत वर्ष मात्रै सम्पन्न भएको हो । २०७६ सालमा ग्रामिण जलश्रोत व्यवस्थापन (आरभिडब्लुआरएमपी) नामक गैर सरकारी संस्थाको ५२ लाख रकममा खानेपानी योजनाको काम सुरुवात गरिएको फरपाडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मालीले जानकारी दिए ।

उनका अनुसार उक्त वर्ष योजनामा करिब पाँच भुक्तानी गर्न बाँकी रह्यो । बडाल भन्दा पानीको मुहान १४ किमि टाढा महाभारत पर्वतको करिब दुई हजार २०० मिटर उचाईमा ताललेक क्षेत्रमा थियो । उनले भने, बडालबाट पानीको मुहानमा एक कट्टा सिमेन्टको पुगाउदा एक हजार ६०० ज्याला मात्रै लाग्यो । मज्दुर नपाईने समस्या भयो । मुहान क्षेत्रमा एक कट्टा सिमेन्ट पुगाउदा दुई हजार ६०० मूल्य पर्यो । अनि कसरी काम सम्पन्न गर्ने ?

उनका अनुसार त्यो बेला ४० एमएमको पाईपमा पानी ल्याईएको थियो । त्यसपछिको वर्ष प्रदेश अन्तरगतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराको ३० लाख र संघिय सरकारको १२ लाख रकममा १०० एमएमको थप पाईप लाईन विस्तार गरियो । रकम अपुग भएपछि करिब पाँच किलोमिटरमा काम गर्न बाँकी रहेको उनले बताए । उनका अनुसार गत वर्ष गरिएको काममा मज्दुरलाई १० लाख र निर्माण सामाग्रीको १५ लाख गरि करिब २५ लाख रकम भुक्तानी गर्न बाँकी छ ।