भागेश्वर गाउँपालिकामा ५५ प्रतिशत जमिन बाँझै

Image

डडेल्धुरा । भारतसंगको सिमा महाकाली नदी किनारसंग जा्डिएको भागेश्वर गाउँपालिकाको ५५ प्रतिशत जमिन बाँझै रहेको छ । २३३ दशमलब ३८ वर्ग किमि क्षेत्रफल रहेको भागेश्वरको उर्बर भूमिको ५५ प्रतिशत जमिन बाँझै रहेको हो । एक दशक अधिसम्म गुल्जार रहने यहाँका खेतबारी पछिल्ला वर्षहरुमा बाँझो भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए । वर्षेनी बसाइसराइ बढ्दै जाँदा प्रशस्त अन्न उब्जाउ हुने भूमि बाँझो हुदै गएको उनको भनाई छ ।

वर्षेनी करोडौ बजेट आएको छ । सयौ योजनाहरु सम्पन्न हुने गरेका छन । उनले भने, बिषेशगरि शिक्षाका नाममा बसाइसराइ हुने गरेका छ । युवाहरु विदेश छन । उनका श्रीमती छोरा, छोरी पढाउने भन्दै तराईका जिल्ला कैलाली, कञ्चनपुर वा काठमाडौं बस्ने होड चलेको छ । गाउँधरमा बुढापाका मात्रै रहेको र जमिन बाँझो हुदै गएको उनले बताए ।

भागेश्वरका अग्ला क्षेत्रबाट वर्षेनी करोडौको सुन्तला, जुनार डडेल्धुरा बाहिरका जिल्लाहरु निर्यात हुदै आएको र सुन्तला, कागती जातका फलफूलका विरुवासमेत अन्यत्र निर्यात भईरहेको उनले बताए । विभिन्न क्षेत्रमा सिचाइको सुबिधा पुगेकाले खोला किनारका बेसिन क्षेत्रहरुमा सबै अन्न राम्रो उत्पादन हुने भएपनि बसाइसराइले जमिन बाँझो हुदै गएको उनले बताए ।

पाँच वटा वडा रहेको भागेश्वरका तीन वटा वस्तिहरु बाहेक सबै गाउँवस्तिहरुमा सडक पुगाइएको र यस वर्ष महाकाली नदी किनारमाथि रहेको चुडी गाउँमा पनि सडक पुगाउने योजना रहेको उनले बताए । जिल्ला सदरमुकामबाट १४ किमिको दुरीमा रहेको पालिकाको अस्थाई मुकाम वडा नं. ४ बगरकोटसम्म लगभग सडक कालोपत्रे भएको जानकारी दिदै उनले संघिए एव प्रदेश सरकारका ठेक्काबाट भईरहेका काममा ढिलाई भईरहेको भए पनि सम्बन्धित निकायलाई बारम्बार ताकेदा गर्दा सुनुवाई नहुने गुनासो गरे ।

उनका अनुसार वडा नं. २ को रुपालमा १० सैय्याको अस्पताल निर्माणको काममा ढिलाई भईरहेको छ भने बगरकोट सिराड सडकको खुल्लाखेतसम्मको सडक कालोपत्रे गर्न भएको ठेक्कामा गत वर्ष रकम नै नआउदा निर्माण गरिएका पर्खाल, नाली भू क्षयीकरणले भत्किने अवस्थामा छन । पुर्वाधार कार्यालयले फराकिला बनाएका सडकमा पहिरो खसेर अवरुद्ध बनेका छन । बगरकोटमा स्वास्थ्यचौकीको आधुनिक भवन निर्माण भईसकेको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिदत्त भट्टले ४५ करोड ४३ लाख ९८ हजार रुपियाँ प्राप्त भएकोमा ३७ करोड ७६ हजार मात्र खर्च गर्न सकिएको जानकारी दिए । पालिकाको राजस्व संकलन ३६ लाख ३० हजार भएको उनले बताए ।

उनका अनुसार सबैभन्दा बढी बजेट शिक्षा युवा तथा खेलकुद शाखामा १४ करोड २६ लाख ३८ हजार विनियाजन गरिएकोमा १२ करोड ८३ लाख ४० हजार खर्च भएको छ । त्यसपछि पूर्वाधार शाखामा चार करोड नौ लाख २५ हजार विनियोजन गरिएकोमा तीन करोड ८४ लाख २५ हजार खर्च भएको जानकारी उनले दिए । स्वास्थ्य शाखामा तीन करोड १३ लाख २३ हजार विनियोजन गरिएकोमा दुई करोड ७६ लाख ३८ हजार खर्च भएको उनले बताए ।