गौरा पर्वको आज मुख्य दिन अठ्यावली

Image

डडेल्धुरा । गौरा पर्व सुदूरपश्चिमको मौलिक पर्वको । सुदूरपश्चिमका जिल्लाहरुमा यो पर्व हर्षाेल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन आईतबार (आज) अठ्यावली अर्थात अष्टमी हो । यस दिन बिरुडाले गौराको पूजाआजा गरी परिवारका पुरुष सदस्यहरुको पनि पूजा गरि आर्शिबाद दिईन्छ ।

सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमासमेत आआफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । पछिल्ला वर्षहरुमा राजधानी काठमाडौ.लगायत अमेरिकालगायत विभिन्न देशमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुले समेत गौरा पर्व मनाउदै आईरहेका छन ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीको महान पर्व गौरा पर्वको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरूडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रूपमा सुरुवात गर्दछन् । भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरूडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरूडा भिजाउने चलन रही आएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरूडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको न्वाला, धारा, पँधेरा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको गौरा घर वा मठमन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाहरूले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ ।

अठ्यावली अर्थात अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन रहेको पण्डित लोकराज भट्टले बताए । आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ‘सञ्ज्या’ लाई ल्याउने गरिन्छ ।

‘दूर्बा’ अर्थात दुबोको पूजा गरिने हुँदा दूर्बाष्टमी पनि भनिएको उहाँले बताउनुभयो । अष्टमी र दुबो दुबै भगवतीका लागि प्रिय छन । त्यसैले गौरापर्व मनाइने क्षेत्रमा आजको दिनको विशेष महत्व छ । यसका साथै तागाधारी पुरूषका लागि ऋषितर्पणी वा जनैपूर्णिमाको महत्व भए जस्तै तागाधारी नारी जातिका लागि आज विशेष महत्व छ ।

पबित्र धागोबाट निर्माण गरिएको दुबोधागोलाई बिधिपूर्वक अभिमन्त्रित गरी तागाधारी नारीहरूले आजकै दिन धारण गर्दछन । पुरानो मान्यता अनुसार दुबोधागो ग्रहण नगरिएका महिलाहरूले भात भान्सा गर्न र गौरा पुज्ने अधिकार पाउँदैनथे ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ ।

त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुकासाथै सामाजिक सदभाव कायम पनि गरिन्छ । गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आआफ्नै चलन अनुसार गर्ने गरिन्छ ।