जुम्ला । कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको पहिराले भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् । तीनदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन् ।
गगने खोलामा ठुला ढुङ्गा आएको र ब्रेकरले पनि ढुङ्गा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ । सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै रोकिएको हुन । तीनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौँ रुपियाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ।
विगतको तुलनामा यस वर्ष ढिला गुल्कोजको मात्र भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्वाध रूपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरू बताउँछन् । सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेकर्डअनुसार भदौ १४ गतेदेखि १६ गते बिहानसम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् ।
नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते अर्थात १ वटा गरी जम्मा २० वटा ट्रकले स्याउ बोकेर गएका थिए । भदौ १४ देखि १६ गतेसम्म स्याउ बोकेका २० ट्रक रोकिएका छन् । २० वटा ट्रकमा भण्डै सात सय ९ क्विन्टल स्याउ निर्यात भएको छ ।
न्यूनतम १२ क्विन्टलदेखि अधिकतम् ४० क्विन्टलसम्म स्याउ व्यापारीले बिक्रीका लागि लिएको पाइएको छ । लगातार दुई दिनदेखि बाटोमै स्याउ थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालीले बताए ।
करोडौंका स्याउ बोकेका गाडी अलपत्र पर्ने गरेका छन् । तर अवरुद्ध खुलाउने तयारी सुस्त छ । ठुला ढुङ्गा खसेका ब्रेकरले फुटाउन सकेको छैन । अब ब्लास्टिङ गर्ने भन्ने छ । कहिले सडक खुल्ने हो पत्तो छैन् । त्यस्तै अर्का स्याउ व्यापारी कालीबहादुर रोकायाले सडक अवरुद्ध भएपछि जुम्लाका किसान र व्यापारीले गत वर्षजस्तै सास्ति पाएको बताए ।
भौगोलिक रूपमा भिरालो क्षेत्र र स्थानीय तहले जथाभावी निर्माण गरेको सडकका कारणले वर्षा हुने वित्तिकै कर्णाली राजमार्गमा पहिरोको उच्च जोखिम रहेको छ । गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्ध भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेको थिए ।











