काठमाडौं । हमासले ४८ जना बन्धकहरुको तस्बिर सार्वजनिक गरेको छ । शनिबार हमासको कासम ब्रिगेडले टेलिग्राममार्फत बिदाइ तस्बिर भनेर ४८ बन्धकको फोटो रहेको पोस्टर सार्वजनिक गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कतारी टेलिभिजन नेटवर्क अल जजिराका अनुसार हमासले जिवित र मृत्यु भइसकेकाहरूको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेको हो । त्यसमा नेपालका विपिन जोशी पनि देखिएका छन् ।
तस्बिरहरू सार्वजनिक गरिए पनि उनीहरुको अवस्था के छ भनेर नखुलाइएको अलजजिराले जनाएको छ ।
पछिल्लो समय इसराइलले गजामा आकाश र जमिनबाट आक्रमण तीव्र पारेको छ । उसले गजाका ठुल्ठूला भवनहरू बम खसालेर ध्वस्त बनाएको छ ।
गजामा इसराइली सैन्य कारबाही तीव्र भएपछि हमासले मृतक बन्धकहरूको शव र जिवितहरूको जीवनको ज्ञारेन्टी दिन नसक्ने भनेको थियो ।
त्यसका बाबजुद पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गजालाई पूर्ण रूपमा हमासबिहीन नबनाइन्जेल आक्रमण गर्ने घोषणा गरिसकेका छन् । उनीहरुले बाँकी रहेका बन्धकहरूलाई एकैपटकमा रिहा गर्न पनि चेतावनी दिएका थिए ।
इसराइलले बाँकी बन्धकमध्ये कम्तिमा २० जना जिवितै रहेको भनेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले भने २० भन्दा कम संख्यामा बन्धकहरु जिवित हुनसक्ने भनेका थिए ।
हमासले सार्वजनिक गरेको पोस्टरमा जिवित र मृत्यु भएकोबारे खुलाइएको छैन । सबै तस्बिरको नाममा रोन अराद भनेर क्रमैसँग उल्लेख गरिएको छ।
अराद इसाइली वायुसेनाका क्याप्टेन थिए । उनी सन् १९८६ मा लेबननमा बेपत्ता भएका थिए। उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो भनेर अल जजिराले लेखेको छ ।
अरादको मृत्यु भएको विश्वास मात्रै गरिएको छ । त्यसको न प्रमाण भेटिएको छ न इसराइलले पुष्टि नै गरेको छ ।
यसरी अरादको नाम दिएर पोस्टर सार्वजनिक गर्नूलाई इसराइलले आक्रमण नरोके बाँकी बन्धकहरूको अवस्था पनि त्यस्तै हुने भनेर हमासले सांकेतिक चेतावनी दिएको हुनसक्ने अल जजिराले लेखेको छ ।
इसराइली समाचार संस्था टाइम्स अफ इसराइलले भने गजामा आक्रमण तीव्र पारेपछि हमासले बन्धकलाई ढाल बनाएर धम्की दिन खोजेको बताएको छ ।
हमासले बन्धकहरुको तस्बिर समेटिएको पोस्टर सार्वजनिक गरेपछि इसराइलका मुख्य मुख्य सहरहरूमा दसौं हजार मानिसहरू सडकमा निस्किएका छन् ।
शनिबार तेल अविभस्थित होस्टेज स्क्वायरु र जेरूसलेमस्थित प्रधानमन्त्री नेतन्याहूको निवासनजिकैको पेरिस स्क्वायरमा हजारौं मानिसहरू भेला भएर प्रदर्शन गरेका थिए ।
अन्य सहरहरूमा पनि सानो तथा ठूलो भिड एकत्रित भई प्रदर्शन गरेको टाइम्स अफ इसराइलले जनाएको छ । उनीहरूले गजामा आक्रमण बन्द गरेर हमाससँग संवादमार्फत बन्धकहरूलाई फिर्ता गर्न माग गरेका छन् ।
आक्रमण तीव्र बनाउँदा जिवित रहेका बाँकी बन्धकहरूको जीवन खतरामा पर्ने भन्दै उनीहरूले तत्काल सैन्य कारबाही रोक्न माग गरेका छन् ।











