डडेल्धुरा । डोटी जिल्लाबाट डडेल्धुरा आउँदै गरेको जिप डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ मछलीखोलामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
शनिबार मध्यान्ह १२ बजेको समयमा लुम्बिनी प्रदेश ०१००१ च ३३०१ नम्बरको बलेरो जिप सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परि जिपमा सवार डोटीको सायल गाउँपालिकाका पाँच जना घाइते भएका छन् । घाइतेहरूमा १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ । सबै घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।











