देउताका मन्दिरमा पूजाआजासंगै मेलाको रौनक

Image

डडेल्धुरा । नेपालीहरुका महान पर्व दसैं तिहार सकिएपछी सुदूरपश्चिमका विभिन्न स्थानमा विराजमान देविदेवताको वार्षिक भव्य पूजाआजासंगै मेलाको रौनक शुरु भएको छ । धार्मिक परम्परा संगै मौलिक संस्कृतीकासाथ जाँत (मेला) हुने भएकाले यहाँ देउताका मन्दिरसंगै गाउँघरामा रौनकता छाउने गरेको छ ।

जाँतमा देविदेवताको पूजाआजा संगै धामिको नाच, स्थानिय मौलिक बाँजागाजा चौलो, देउडा हुने गरेकाले जाँतमा रौनकता थपिने गरेको छ । तिहारपछी यहाँका गाउँघरमा अहिले दैनिक रुपमा कुनै न कुनै देवीदेवताको पुजाआज गरी जाँत हुने गरेका छन ।

दसैंका बेला हुने पूजाआजा पछी यहाँका विभिन्न देवीदेवताका मन्दिरहरुमा तिहार पछि भव्य रुपमा वार्षिक पूजाआजा देवताका भाषामा (हुला) पूजा र मेला शुरु भएका हुन । यी वाषिक पूजाआजामा मनुवाहरुले भाकल गरे अनुसारका आभुषण देविदेवतालाई सुम्पिने भएकाले महान मानिन्छन ।

कुनै काम रोकिएको भए यी वार्षिक पूजाआजामा देवतासंग गुनासो राखिन्छ । देवलोकमा देवताहरुसंग साक्षात रुपमा वार्तालाप भएको अनुभूमी वार्षिक पूजाआजाका बेला गर्न सकिन्छ । धामि मार्फत हुने भाका वैचालीमा धामी नभएको खण्डमा नयाँ धामी चुनिनेलगायत गाउँघरका धार्मिक परम्परा अनुसारका सबै कार्यका लागि वार्षिक पूजाआजा महत्वपूर्ण रहेका हुन्छन ।

अहिले सामाजिक संजालमा देवीदेवताका वार्षिक पूजा मेला यती गते हुने भन्दै पोष्ट भईरहेका पुराना भिडियो र तस्बिर भाईरलसमेत भईरहेका छन । वार्षिक पूजा महत्वपूर्ण मानिने भएकाले देशविदेशबाटसमेत स्थानीयहरु थातथलो पुगेर देविदेवताको शरण पर्ने गरेको लेगी समैजीका पुजारी पण्डित करुणाकर भट्टले बताए ।

तिहारको पाँच दिन पछि षष्टिका दिन शैलेश्वर महादेवको पूजालाई पहिलो पूजा र मेला मानिन्छ । नेपालको सबैभन्दा बढी लघुरुद्राभिषेक र रुद्रको पाठ हुने शैलेश्वर धाम जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ७, ८ र नवदुर्गा गाउँपालिका १ को सिमानामा अवस्थित छ । रेणुका नदी र शल्य नदीको किनारमा अवस्थित शैलेश्वर महादेव मन्दिरमा वडा नं. ७ को सल्लागाउँ र वडा नं. ८ को खनमडा गाउँबाट पूजाआजाको बिषेश सामाग्री नेजाध्वाजा, शंक घण्टासहित देउरो जाने प्रचलन रहिआएको छ । यहाँ षष्टिको बेलुकी र सप्तमीको बिहान बिषेश पूजाका साथभव्य मेला लाग्ने गरेको छ ।

शैलेश्वर महादेवमा नवदुर्गा गाउँपालिका १ कोटेली गाउँका भट्टथरी, अजयमेरु गाउँपालिका १ पालीगाउँका भटट् थरी, अमरगढी नगरपालिका ८ हतर्का गाउँका भट्ट थरी र अमरगढी ६ छचोडा गाउँका पन्त थरीका चार वटा पूजारी रहनुभएको वडा नं. ७ का वडा अध्यक्ष खडक बोहराले बताउनुभयो । उहाँका अनुसार उहाँको गाउँ सल्लागाउँका बोहरा र खनमडा गाउँका पाण्डेयहरु करियाभरिया रहेका छन ।

तिहार सकिए पछि शैलेश्वर महादेवसंगै जिल्लाका भव्य देविदेवताहरु समैजी, डडेल्धुराको उग्रतारा भगवती मन्दिर, भागेश्वर (धुरा), महादेव मन्दिर रुपाल, बडाल जाँत, खोलाई जाँत मुख्य मलाको रुपमा लिने गरिन्छ । यस वर्ष उग्रतारा मेला (जेहिजाँत) कार्तिक १९ गते लाग्ने भएको छ । उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । यस वर्ष कात्तिक १८ गरे रतेडी मेला लाग्ने उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भटट्ले जानकारी दिए ।

उनका अनुसार छचोडा, खनमडा, दुमडा र जिलोडा गरि चार वटा गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) रहेको छ । यी चारवटै गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ः०० बजोको समयमा ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ ।

‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भ्राणमा लगेर राखेपछी मेला सम्पन्न हुन्छ,’ उनले भने ।

तिहारको पाँच दिन पछी शैलेश्वर महादेव, १० दिन पछी समैजी र १५ दिनपछी उग्रतारा मन्दिरमा पूजाअजासहित मेला लाग्ने गरेको छ । समैजी देउताको पूजाआजा यस वर्ष कात्तिक १४ गतेका दिन हुने छ । कात्तिक शुक्ल दशमीका दिन बेलुकी मन्दिरमा पूजाआजा र रातीको समयमा भ्राणबाट देउरो लगेर मेला प्रारम्भहुने पुजारी पण्डित भट्टले बताए । अजयमेरु गाउँपालिका १ मुद्राण गाउँमाथिको जंगलमा रहेको कोला समैजी र अमरगढी नगरपालिका ७ पोखरा माथि जंगलमा रहेको लेगीसमैजी दशमीको दिन भव्य पूजाआजा गरिने उनले बताए ।

नांगो तरबारको चौलोले प्रख्यात बडाल जाँत कात्तिक १५ गते हुने भएको छ । गन्यापधुरा गाउँपालिका–२ बडालमा रहेको लाटागन्याप देवताकाको पूजाआजा गरी बडाल जाँतमा दाईन दमाह, रुसिंग, भोकर बाजाको तालमा नांगो तरबार नचाएर चौलो खेलिन्छ । धार्मिक शक्ति संगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरे पछि दिउसोको मेला शुभारम्भ हुन्छ । प्राचिनकाल देखि चलिआएको छलिया जाँत हेरे पछि देवीदेवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।

दाईन, दमाह, रुईसिंग, भोकर बाजागाँजाका साथ स्थानियहरु हातमा तलवार खेलाई चौलो खेल्दै गाँज नाचाई सके पछि बडाल जाँत सम्पन्न हुने गर्दछ । तरबार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवल क्षेत्र विकास समितिका अध्यक्ष पूर्ण बहादुर देउवाले बताउनुभयो । सुदूरपश्चिमकै सबै भन्दा बढी दाईन, दमाहा र भोक्कर बजाईने मेलाका रुपमासमेत बडाल जाँता प्रशिद्ध रहेको छ ।

यस वर्षको खोले जाँत कात्तिक २२ गते लाग्ने भएको छ । अजयमेरु गाउँपालिका–३ र ४ चिपुर सिमानामा पर्ने प्रसिद्ध जगन्नाथ मेला (खोले जाँत) कात्तिक २१ गते रतेडी र २२ गते दिसेडी परेको छ । जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टका अनुसार २१ गते राति ‘रतेडी’ र २२ गते दिउँसो ‘दिउसेडी’ मेला लाग्ने भएको हो ।

मेलामा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनहरूले देउरो बोकेर जगन्नाथ मन्दिरमा पुग्ने परम्परा रहेको छ । पूजाआजापछि ‘तिलाख’ ग्रहण गर्न बिहानैदेखि भक्तजनहरूको भीड लाग्ने गर्छ ।

भागेश्वर (धुरा) जाँत १८ गते लाग्ने भएको छ । डडेल्धुराका यीलगायत अन्य दर्जनौ देविदेवताका मन्दिरमा हुने जाँत (मेला)हरुमा स्थानीयहरुको आफन्तजनहरुको भेटघाँट गर्ने थलोका रुपमा पनि लिने गरिन्छ । जाँतमा बिषेशगरि स्थानीय वस्तुहरुको किनमेल गर्ने गरिन्छ ।