कञ्चनपुर । बिहीबार दिउँसो २ बजे भीमदत्त नगरपालिकाको सभा हलमा सुरु हुनै लागेको जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँगको बैठक नोकझोंकमा परिणत भयो ।
सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल सभाहलमा प्रवेश गरेपछि सभा हल अशान्त बन्न पुगेको थियो । रावल २ बजेर १० मिनेट जाँदा सभा हलमा प्रवेश गरे । सभा हलमा प्रवेश गर्नासाथ उनी आवेगमा आए । रावलले जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई कडा शब्द प्रहार गरे ।
रावलले जाँचबुझ आयोगको नाममा घाउमाथि झन् नुन थप्ने कार्य गरेको टिप्पणी गरे । उनले भने, “हु आर यु, घर राष्ट्रिय सम्पत्ति जलाउने, अपराधिहरुलाई कारबाही नगर्ने ?”
पूर्व मुख्यमन्त्री रावल २ बजेर २२ मिनेट जाँदासम्म सभा हलमै आयोगका सदस्य, प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीसँग जङ्गिँदै सुरक्षा प्रदान गर्न नसक्दा अहिलेको अवस्था आएको बताए ।
यस्तो बैठकको कुनै औचित्य नरहेको भन्दै रावल बैठकबाट बाहिए । जाँचबुझ आयोगका सदस्य भण्डारी रावलको घरमा पुगेर परिचय नदिइकनै क्षतिको विवरण संकलन गरेपछि पूर्व जानकारी नदिइएको भन्दै रावल रिसाएको बताइएको छ ।
२ बजे बस्ने भनिएको बैठक ढिलो गरी साढे ३ बजेको बसेको थियो । तर बैठकमा उपस्थित भएकाहरू भने सबै घर फर्किसकेका थिए । बैठकमा बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुख, सुरक्षाकर्मी र केही कर्मचारीहरुको उपस्थिति रह्यो ।
गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको सचिवालयको पत्रानुसार जेनजी आन्दोलनका क्रममा जिल्लामा भएको क्षतिको सम्बन्धमा बिहीबार दिउँसो बैठक डाकिएको थियो । बैठकमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, जेनजी आन्दालेनमा क्षति पुगेका नेता लगायतलाई बोलाइएको थियो ।











