डडेल्धुरा । दाईन दमाह, रुईसि· र भोकरको धुनमा हातमा नांगो तरबार आकाश तिर घुमाई नृत्य प्रश्तुत गरिने बडाल जाँत शनिबार सम्पन्न भएको छ । गन्यापधुरा गाउँपालिका २ को मुकाम बडालमा अवस्थित लाटा गन्याप देवताको मन्दिरमा शुक्रबार राती पूजाआजा गरिएपछि दोस्रो दिन दिउसो देउताको गाँज (लौरोमा विभिन्न रंगका कपडासंगै सुनचाँदी, घोडीको पुछले सजाईएको छाता) संगै चौलो खेलिन्छ ।
मौलिक बाजाँगाजाँको तालमा छाला नृत्य (आधा देब्रे धुमेर फेरी पछाडी फर्केर हल्का बसे जस्तो गरि हातको तरवार माथि आकाश तिर तलमाथी गर्दै घुमाउने) गीत गाउदै छलिया नाच (चौलो) खेलिन्छ । दिउसो चौलो खेलीसके पछि मेला सम्पन्न हुन्छ ।
देउताका पूजाआजामा धार्मिक परम्परासंगै देखाईने यी मौलिक परम्परागत संकस्कृतीले तिहार पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा रौनकता छाउने गरेको छ । कात्तिक शुक्ल दशमीको राति पूजा गरि जाग्राम बसेर दोस्रो दिन कात्तिक शुक्ल एकादशीका दिन बिहान देखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पुरा हुने भन्ने जनविश्वास रहिआएको छ ।
धार्मिक शक्तिसंगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरे पछि दिउसोको मेला शुभारम्भ हुन्छ । बडाल जाँतको दिनमा बिहान भागेश्वरमा चौलो जाने र त्यहाँबाट गाँज (छत) ले बडालभन्दा मूनी उत्तरबाहिनी खोलामा रहेको नङरी तालमा ढोग गर्ने गरेको विश्वास रहेको छ । नङरी ताल गन्याप देवताको दिदिका रुपमा लिईन्छ ।
प्राचिनकाल देखि चलिआएको छलिया जाँत हेरे पछि देवी देवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । तरवार खेलाई छलिया नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवल क्षेत्र विकास समितिका अध्यक्ष पूर्ण बहादुर देउवाले बताए । सुदूरपश्चिमकै सबै भन्दा बढी दाईन, दमाहा र भोक्कर बजाईने मेलाका रुपमा समेत बडाल जाँता प्रशिद्ध रहेको छ ।
मन्दिरमा गन्यापधुराको कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देउरो आउने गरेको भएपनि मुल देउरो भने मालीगाँउबाट ल्याउने चलन रही आएको छ ।
जाँतमा स्थानियहरुको उत्पादन अहिले पनि साटासाट हुने गर्दछ । स्थानिय कृषकहरुको बिभिन्न कृषि उत्पादन, दाल, हलो, जुवा, पारा ठेकी, लगायतका वस्तुहरुको समेत मेलामा किनमेल हुने गरेको वडा नं. २ का वडा अध्यक्ष मनोज देउवाल बताए ।
मेला स्थलसम्म सडकको राम्रो पहुँच भएकाले बिगतका वर्ष भन्दा पछिल्ला वर्षहरुमा भक्तजन, दर्शनार्थी एवं मेला अवलोकनकर्ताहरुको उल्लेखनीय सहभागीता रहदै आएको उहाँले बताउनुभयो । बडाल जाँतको रुपमा चिनीने यो मेला डडेल्धुराको पश्य गर्खाकै एक शानको रुपमा चिनीने गरेकोे छ ।











