प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा महेन्द्र मावि प्रथम

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय प्रथम भएको छ। डडेल्धुरा सदरमुकाम अमरगडी नगरपालिका ५ खलंगामा रहेको महेन्द्र माविको आयोजनामा शुक्रबार विज्ञान प्रदर्शनी प्रतियोगिता गरिएको थियो । विज्ञान प्रवद्र्धन कार्यक्रम लागू भएका सुदूरपश्चिमका नौ जिल्लाका १२ विद्यालयमध्ये नौ वटा विद्यालय सहभागी थिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको महेन्द्र मावि डडेल्धुराले नगद पुरस्कार २० हजार र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा दुर्गालक्ष्मी मावि अत्तरिया कैलाली द्वितीय, महेन्द्रनगर मावि कञ्चनपुर तृृतीय र भानोदय मावि बाजुरा सान्त्वना स्थान ल्याउन सफल भएको महेन्द्र मावि डडेल्धुराका शिक्षक एवं सूचना अधिकारी धर्मराज पन्तले जानकारी दिए।

उनका अनुसार द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कारसँगै प्रमाणपत्र पनि पाएका छन् ।

विज्ञान विषयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माविका प्रधानाध्याक सुरेन्द्रसिंह ऐरले बताए । पछिल्लो समय विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या घट्दै गइरहेको उल्लेख गर्दै उनले विषय शिक्षक पाउन पनि मुस्किल भइरहेको बताए ।

सहभागी विद्यालयहरूः
श्री मणिलेक माध्यमिक विद्यालय मेलौली, बैतडी
श्री भानोदय माध्यमिक विद्यालय वाजुरा
श्री दुर्गालक्ष्मी माध्यमिक विद्यालय अत्तरिया कैलाली
श्री महेन्द्रनगर माध्यमिक विद्यालय महेन्द्रनगर, कञ्चनपुर
श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा, दार्चुला
श्री सुनकुडा माध्यमिक विद्यालय बझाङ्
श्री विरेन्द्र माध्यमिक विद्यालय शाहीलेक, बैतडी
श्री धनगढी नमुना माध्यमिक विद्यालय धनगढी, कैलाली
श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा, डडेल्धुरा