सभाहल निर्माणमा ४० लाख खर्च गरि अलपत्र

Image

डडेल्धुरा । सभाहल नभएको डडेल्धुरामा निर्माणका लागि दुई करोडको इष्टिमेट तयारी गरी ४० लाख खर्च गरिएपनि कामले गति लिन सकेको छैन । तीन वर्ष पहिले ४० लाख खर्च गरि जग हालेर पिल्लरका लागि छड ठडाईएको सभाहल निर्माण स्थल अहिले जिर्ण अवस्थामा छ ।

आर्थिक वर्ष २०७९/०८० मा २०० जना क्षमताको सभाहल निर्माण गर्न रकम विनियोजन भई काम शुरु गरिएपनि त्यस यताका वर्षहरुमा काम अगाडी नबढ्दा हालेको जग र पिल्लरका छड जिर्ण बनेका हुन ।

जिल्ला समन्वय समितिको कार्यालय किर्तिपुरको जमिनमा सभाहल निर्माणका लागि जग हालिएको थियो । गत आर्थीक वर्षमा थप काम नहुँदा निर्माण कार्य अलपत्र परेको जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले जानकारी दिए ।

जग हालेर पिल्लरका लागि छड ठडाईएपनि पछिल्ला वर्षहरुमा निर्माणको काम अघि बढ्न सकेन । उनले भने, यहाँ अहिले झाडी पलाएको छ । आउने जाने जो सुकैले यो के हो ? भनेर साध्छन । जवाफ दिदा दिदा हैरान भईसके । काम अघि बढ्दैन ।

उनका अनुसार सभाहल निर्माणका लागि गत आर्थीक वर्ष २०८/१०८२ मा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले ४५ लाख रुपियाँ विनियोजन गरेको थियो । तर सहरी विकास भवन कार्यालयले सभाहल निर्माणको थप काम गर्न निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीलाई कार्यादेश नदिदा निर्माण कार्य अलपत्र परेको उनले बताए ।

उक्त सभाहल निर्माणका लागि दुई करोड रुपियाँको लागत इष्टिमेटमा बहुवर्षीय योजना अन्र्तगत २०७९ सालमा ठेक्का आह्वान गरिएको थियो । पहिलो वर्ष ४० लाख रुपैयाँ खर्च गरेर भवनको जग निर्माण गरि पिल्लरका लागि ठडाईएको छ । निर्माण शुरु गरेको दुई वर्ष सम्म पनि निर्माण कार्यलाई अगाढी बढाउँन नसक्दा सभाहल निर्माण स्थलमा झाडी पलाउदा निर्माण स्थल खण्डहरमा परिणत भएको छ ।

गत आर्थीक वर्षमा बजेट विनियोजन भए पनि काम नभएपछि चालु आर्थीक वर्षमा सभाहल निर्माणका लागि बजेट विनियोजन हुन नसकेको उनको भनाई छ । डडेल्धुरा जिल्ला सदरमुकाममा अहिलेसम्म कुनैपनि सभाहल छैनन् । तत्कालिन जिल्ला विकास समितिको करिब १०० जना अटाउने क्षमताको सभाहल भएपनि हाल संचालनमा छैन ।

द्धन्दकालमा तत्त्कालिन विद्रोही माओवादीले उक्त हलमा बम विस्फोट गराएपछि केही वर्ष यता जिर्ण अवस्थामा पुगेको समन्वय प्रमुख भण्डारीले बताए । जिल्ला सदरमुकाममा सरकारी मात्रै नभई नीजि तर्फ पनि कुनै सभाहल नभएका कारण ठूला कार्यक्रम एवं आवश्यक सभा र छलफल गर्न कठिनाई हुदै आएको उनको भनाई छ ।