किशोरी स्वास्थ्यको ख्याल गर्दै विद्यालयमा स्वचालित सेनेटरी प्याड र डिस्पोज उपकरण

Image

डडेल्धुरा । विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि स्वचालित सेनेटरी प्याड, डिस्पोज गर्ने उपकरणसंगै किताब र खेलकुद पोशाक उपलब्ध गराईएका छन । विद्यार्थीको चाप वषेनी बढ्दै गएको महेन्द्र माविलाई मागका आधारमा ग्रामिणमहिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराल सेनेटरी प्याड निस्कने स्वचालित उपकरण, नष्ट गर्ने मेसिनसंगै विभिन्न ज्ञान, सिप उपयोगी पुस्तक र खेलकुद पोशाक उपलब्ध गराएको हो ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ खलंगामा अवस्थित महेन्द्र माविका किशोरी एवं विद्यार्थीहरुका लागि सरसफाई र शैक्षिक सामाग्री उपलब्ध गराएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए । उनका अनुसार गेम सुट (जर्सी) ५८ सेट, गेम सुट वीनचिटर २४ सेट, सेनेटरी प्याड निस्कने भेन्डिंग मेसिन एक थान, नष्ट गर्ने इनसाइनेरेटर एक थान र विभन्न पुस्तकहरु गरि १०६ थान पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

पपुलेसन कनेक्सनको आर्थिक् सहयोगमा महेन्द्र माविमा रुडुकले संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तरगत दुई लाख ११ हजार मूल्य बराबरका सामाग्री हस्तान्तरण गरिएको उनले बताए । महेन्द्र माविमा बालविकास देखि कक्षा १२ सम्म यस वर्ष विद्यार्थी संख्या एक हजार ४०० रहेको प्रधानाध्यापक शुरेन्द्र ऐरले जानकारी दिए । उनका अनुसार छात्राको संख्या ५० प्रतिशत नै रहेको छ ।

महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको विद्यालयका प्रधानाध्यापक ऐरले जानकारी दिए ।

रुडुकले उपलब्ध गराएका उपकरणहरुले किशोरी स्वास्थ्य सरसफाईसंगै पढाई प्रति रुचि बढाउने उनले बताए । विद्यालयमा एक जना नर्स र एक जना रुडुकले पनि नर्स कर्मचारी खटाएका कारण महिनाबारी भएका किशोरीहरु र विद्यार्थीहरुको स्वास्थ्यमा देखिने समस्या समाधानका लागि निकै सहज भएको उनको भनाई छ ।

उक्त (जीइपी) परियोजना अन्तर्गत विद्यालयलाई यस अघि एक लाख ७० हजार रुपैयाँ पर्ने ७५ ईन्चको स्मार्ट बोर्ड उपलब्ध गराएको रुडुकका कार्यकरी निर्देशक साउनले जानकारी दिए । साथै छात्राहरुको प्रजनन् स्वास्थ्य सम्बन्धमा अभिमूखीकरण कार्यक्रमसंगै साईवर बुलिंग, मेन्टल हेल्थ सम्बन्धि अभिमूखीकरणका कार्यक्रम परियोजनाले गर्दै आईरहेको छ ।

परियोजनाले यस वर्ष विद्यालयको शैक्षिक क्यालेन्डर छपाई र अतिरिक्त क्रियाकलापहरुमा शैक्षिक सामाग्रीहरु विद्यार्थीलाई पुरस्कारका रुपमा उपलब्ध गराउदै आईरहेको छ । यससंगै टेबुल टेनिस बोर्ड, बिहानी प्रार्थनाका लागि साउण्ड सिस्टम, कक्षाकोठामा खानेपानीको व्यवस्थापनका लागि पानीका जारलगायतका सामाग्री विद्यालयलाई उपलब्ध गराएको उनले जानकारी दिए ।