डडेल्धुरा । जिल्ला सदरमुकामको तुफानडाडामा बिषेशज्ञ चिकित्सकसहितको टीम अस्पताल प्रा.ली. संचालनमा आउने भएको छ । सर्जरी, अर्थो, गाईनो, एमडीजीपीसहित अन्य चिकित्सक अनकलमा रहने गरि टीम अस्पताल संचालनको तयारीमा छ । तुफानडाडा चोक स्थित सिद्धार्थ बैंक रहेको भवनमा अहिले अस्पताल संचालनका लागि काम भईरहेको संचालक हरी धामीले जानकारी दिए ।
उनका अनुसार यही मंसिर महिना भित्रै २५ शैय्याको टीम अस्पताल संचालनमा आउने छ । माईनर, मेजर सर्जरीसहित स्त्री रोग बिषेशज्ञ, हाडजोर्नी बिषेशज्ञ चिकित्सकले अस्पतालमा उपचार सेवा प्रदान गर्ने छन । अन्य बिषेशज्ञ चिकित्सक अनकलमा रहने उनले बताए । सातामा एक पटक गरि महिनामा अवाश्यक सबै बिषेशज्ञ चिकित्सक अस्पतालमा आउने संचालक धामीले बताए ।
धामीले हाल धनगढीमा कैलाली अस्पताल प्रा.ली. र रुद्राक्ष डाईग्नोष्टिक सेन्टर संचालन गरि रहेका छन । यी दुई अस्पताल संचालन गरेको समुहले डडेल्धुरामा टीम अस्पताल संचालन ल्याउन लागेको उनले बताए । सुदूरपहाडका बिरामीहरु लाई बिषेशज्ञ उपचार सेवा प्रदान गर्ने लक्ष्यकासाथ टीम अस्पताल संचालनमा ल्याईन लागेको उनको भनाई छ ।
डडेल्धुरा अस्पताल हुनु पूर्व पनि यहाँ टीम अस्पताल थियो । वि.सं. २०१८ मा अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट टीम अस्पतालको सुरुवात गरेका थिए । त्यो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । २०४५ मा टिम अस्पतालका नाममा २५ शय्यामार्फत स्वास्थ्य सेवा प्रवाह भएको थियो भने २०५१ मा ५० शय्यामा स्तरोन्नति गरिएको थियो । तत्कालिन अवस्थामा टीम अस्पतालले कम दक्ष जनशक्तिमा सुदूरपश्चिम पहाडका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको थियो ।
यस अस्पताललाई २०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय बनाइएको थियो । डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई ५ फागुन २०७५ को मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी डडेल्धुरा अस्पतालमा स्तरोन्नति गरेको थियो । सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठूलो अस्पतालमा स्तरोन्नति गरिएको भए पनि डडेल्धुरा अस्पतालमा हालसम्म बिषेशज्ञ चिकित्सकको पदपूर्ती हुन सकेको छैन । संघिय सरकार मातहतका डडेल्धुरा अस्पताल रेफरल अस्पतालका रुपमा रहेको छ ।
हाल पाँच महिना यता डडेल्धुरा अस्पतालको एक्सरे बिग्रदा बिरामी धनगढी जान बाध्य छन । अस्पतालमा नेपाल सरकारबाट छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सक दुई वर्ष अनिवार्य अस्पतालमा सेवा गर्नु पर्ने प्रावधान भएकाले डडेल्धुरा अस्पताल आउने गरेका छन । तर बिरामीको उपचारमा निकै लाप्रवाही हुने स्थानीयको गुनासो छ । जनगुनासो व्यापाक हुने गरे पनि अस्पताले सेवा प्रवाहमा कुनै तदारुकता देखाएको छैन ।
यस कारण पनि डडेल्धुरामा बिषेशज्ञ अस्पताल संचालनमा आए सुदूरपहाडका बिरामीहरुले स्वास्थ्य उपचारमा निकै राहात पाउने अपेक्षा स्थानीयको छ ।











