डडेल्धुरा । हिउदे बालीको सुरक्षाका लागि मष्टा भगवती मन्दिरमा पूजाआजसहितको मेला सम्पन्न भएको छ । खास गरि असिनापानीले बालीनाली नष्ट गरेपछि मष्टा भगवती माताको पूजाआज गरि मेला लाग्ने प्रचलन रहिआएको किम्बदन्ति छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक कला संस्कृति र धार्मीक परम्पराअनुसार पूजापाठ गरी मनाइने जाँत मष्टा भगवतीको पूजापाठ शुक्रबार सम्पन्न भएको हो । मष्टा भगवतीको पूूजाआजासंगै यहाँका विभिन्न मठमन्दिरमा हुने वार्षिक पूजाआजा मेला यस वर्ष सकिन्छन ।
प्रत्येक वर्ष पूर्णिमा अर्थात् उग्रतारा भगतवती मेला देहिजाँतको ठीक एक महिनापछि हुने मष्ठा भगती र नवदुर्गा जाँत विधिवत रूपमा पूजापाठ भएसँगै यहाँका मठमन्दिरहरुमा हुने विभिन्न देवि देवताका वार्षिक मेला सकिन्छन । मेलामा देउडा खेल खेली जाँत सम्पन्न हुने गर्छ ।
नवदुर्गा गाउपालिका–१ भाणिवन डाँडामा रहेको मष्टा भगवतीमा प्रत्येक नयाँ वर्ष वैशाख १ गते विशु जाँत, दशैंका दिन दशैं जाँत र मुख्य रूपमा लिइने पूर्णिमामा पूजापाठ गरिन्छ । धार्मिक विधिवत रूपमा यस क्षेत्रका पाँच गाँउबाट बाजागाँजासहित धामी काप्दै नेजाध्वजा लिइ चोलो आएपछि भाका बैजाली हुन्छ । गाउँपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीका अनुसार न्वाघर, सेटीगाउँ र बजाडी गाउँबाट देउरो आएर पूजा गरिने चलन छ । यससंगै सुदूरको संस्कृति छाला नृत्य र देउडा खेल खेल्दै मष्ठा भगवतीको जाँत सम्पन्न हुन्छ ।
असिना पानीले स्थानीयले लगाएको अन्नबालीसँगै फलफूल नष्ट पारेपछि गाउँ–गाउँमा अनिकाल निम्तियो । अनिकालको रोकथामका लागि मष्टा भगवतीमा पूजापाठ गरिएसँगै मष्टा भगवतीमा जाँत गर्ने परम्परा रहिआएको नवदुर्गा गाउँपालिका अध्यक्ष अवस्थीले बताए ।
मष्टा भगवतीमा नयाँ वर्ष विशु पर्व र दशैंमा बोका राँगाको बलीसमेत दिइन्छ । नवदुर्गा १ कोटेलीका स्थानीयवासी बोहरा परिवारले प्रत्येक वर्ष विशु पर्वका बेला गरिने पूजापाठमा अनिवार्य रूपमा एउटा बोका र एउटा राँगाको बली दिइने प्रचलन छ । उनले भने, ‘अरूहरूले मानोकामना प्राप्तिका लागि भाकल गर्छन् र बोका राँगाको बली दिने गरेका छन ।’ आफूले कुनै बर मागेअनुसार प्राप्त गरि सकेपछि बलि दिने चलन रहेको छ ।
मष्टा भगवतीमा हालसम्मकै विश्वको सबैभन्दा अग्लो भनिएको माता भगवतीको मूर्ति निर्माण गरिएको छ । भगवती माताको बहान सिंहमाथि आसन गरेको ४५ फिट अग्लो मूर्ति निर्माण गरिएको छ । धार्मिक आस्थासँगै पर्यटन प्रवद्र्धनका लागि अहिलिेसम्म वश्वको सबैभन्दा उचाई भएको भगवती माताको मूर्ति निर्माण गरिएको उहाँको भनाई छ । मूर्ति निर्माणसँगै मेलालाई व्यवस्थित बनाउन व्यापार व्यवसाय गर्नका लागि अलगअलग स्थान तोकिएको छ ।
असिना पानीले खाद्यान्न बाली नष्ट हुन थालेपछि मष्टा भगवतीको पूजापाठले जोगिएकाले सुदूरपश्चिमलगायत अन्य जिल्ला र सीमा जोडिएका भारतीय जिल्लाहरुबाट समेत श्रद्धालु भक्तजन मष्टा भगवतीमा पुग्ने गरेका छन ।
नवदुर्गा गाउपालिकाको वडा नं. १ र २ को सिमाना रहेको अग्लाअग्ला सल्लासहित गोला आकारको भिरालो मैदानमा मष्टा भगवती मन्दिर रहेकाले भौगोलिक दृष्किोणमा पनि रमणिय स्थानमा मन्दिर छ । डडेल्धुराका विभिन्न मन्दिरहरुमा लाग्ने वार्षिक ठूला मेलाहरु मध्ये मष्टा भगवतीको मेलालाई अन्तिम जाँत रुपमा लिईने भएकाले पनि मष्ठा भगवती मन्दिरको जाँतमा डडेल्धुराका अधिकांस स्थानबाट स्थानीय पुग्ने गरेका छन ।












