डडेल्धुरा । ग्रामिण क्षेत्र महाभारत पर्वतमा अवस्थित गन्यापधुरा गाउँपालिकामा १० शैय्याको आधारभुत अस्पताल संचालनको लागि भवन निर्माण कार्य सम्पन्न भएको छ । एक स्थानीय तह एक आधारभुत अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तरगत गन्यापधुरा गाउँपालिकामा अस्पताल संचालनका लागि भवन निर्माण भई हस्तान्तरण गर्न मात्रै बाँकी छ ।
सात वटा स्थानिय तह रहेको डडेल्धुरामा यस अघि जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ५ तुफानडाडामा संघिय सरकार मातहतको ३०० शैय्याको डडेल्धुरा अस्पताल रहेको छ भने अर्को नगरपालिका भित्रिमधेशको जोगबुडा क्षेत्रमा रहेको परशुराम नगरपालिका १२ लालढुंगामा प्रदेश सरकार मातहतको ५० शैय्याको अस्पताल छ ।
गन्यापधुरा लगायत अन्य चार वटा स्थानीय तहमा १० शैय्याको अस्पताल निर्माणका लागि टेण्डर भई काम सुरु भए पनि गन्यापधुरा गाउँपालिकाको भवन मात्रै निर्माण सम्पन्न भएको हो । आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिकामा निर्माणाधिन अस्पतालको भवनको जग मात्रै हालेर अलपत्र अवस्थामा रहेका छन । भागेश्वर गाउँपालिकामा भने अस्पताल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिए ।
गन्यापधुरा गाउँपालिका वडा नं. २ को देवगाउँमा निर्माण भईरहेको गन्यापधुरा आधारभुत अस्पतालको भवनको निर्माण कार्य अन्तीम चरणमा पुगेको गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्कीले जानकारी दिए । अन्य चार पालिकामा निर्माण भईरहेका आधारभुत अस्पतालको काम अलपत्र अवस्थामा रहेकोे भएपनि गन्यापधुरा गाउँपालिकामा निर्माण भईरहेको आधारभुत अस्पतालको भवन पुर्ण रुपमा निर्माण गरेर हस्तान्तरण गर्ने योजना रहेको उनको भनाई छ ।
१४ करोड ७६ लाख रुपैयाँको लागतमा १० शैय्याको आधाधुत अस्पतालको निर्माण कार्य सम्पन्न भएको अध्यक्ष कार्कीले बताए । करिव तीन वर्षमा निर्माण सम्पन्न गर्ने २०७९ सालमा निर्माण व्यवसायीसंग ठेक्का सम्झौता भएको थियो ।
यो अस्पताल संचालमना आएपछि पालिकाका स्थानियले अस्पतालबाट पाईने सेवा पालिकामै पाउँने भएका छन । गाउँपालिका मुकाम बडाल नजिकै अस्पताल भवन निर्माण गरिएको छ । अध्यक्ष कार्कीले भने, अस्पताल संचालनमा आए जंगल किनार, कुना कान्थराका स्थानीयहरुले उपचार एवं परामर्शका लागि जिल्ला सदरमुकाम जानु पर्ने बाध्यताको अन्त्य हुने छ । ग्रामिण गाउवस्तिमा सावरी गाडीको पर्याप्तता नहुदा जोखिम मालेरै गर्नु पर्ने खर्चियो यात्रा पनि अन्त्य हुने उनको भनाई छ ।











