लुम्बिनीले जित्यो एनपीएलको उपाधि

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीए) को उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाईनलमा सुदूरपश्चिम रोयल्समाथि रवाफिलो जित निकाल्दै लुम्बिनी लायन्सले उपाधी जितेको हो ।

त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा शनिबार भएको फाइनलमा लुम्बिनीले ६ विकेटको जित हात पारेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

जितसँगै लुम्बिनीले एक करोड १० लाख रुपैयाँ हात पारेको छ। लगातार उपविजेता बनेको सुदूरपश्चिमले भने ५१ लाखमा चित्त बुझाएको छ। सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

लुम्बिनीका ओपनरद्वय दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए। १३ बल खेलेका उनले १ चौका र ५ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि डी आर्सी शटसँग ५८ रनको साझेदारी गरेका थिए। उक्त साझेदारीसँगै लुम्बिनी जित नजिक पुगेको हो। शटले १४ रन थपे।

कप्तान रोहितकुमार पौडेलले १६ रन बनाउँदा निरोसन डिकवाला ११ रनमा अविजित रहे। सुदूरपश्चिमका हेमन्त धामीले सर्वाधिक २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान १ विकेट राखे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको थियो। सुदूरपश्चिमका ईशानले सर्वाधिक ३३ रन बनाए। ५१ बल खेलेका उनले १ चौका प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट हुँदा हर्मित सिंह र स्कट कुगुलेइनले समान १० रनको योगदान दिए।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिए। चार ओभर बलिङ गरेका उनले जम्मा १२ रन खर्चिए। अर्का बलरद्वय शेर मल्ल र रुबेन ट्रम्पलम्यानले पनि समान ३ विकेट लिए। तिलक भण्डारीले १ विकेट राखे।