डडेल्धुरा । महिलाको पठेघरको मुखको क्यान्सर हुन नदिन (एचपिभी) खोप लगाईने भएको छ । क्यान्सर विरुद्धको एचपिभी खोप डडेल्धुराका किशोरीलाई राष्र्टिय खोप तालिका अनुसार निःशुल्क लगाईन लागेको हो । पहिलो पटक डेमोनेष्टशन र दोस्रो पटक गत वर्ष अभियानकै रुपमा संचालन गरि किशोरीहरु लाई लगाईएको खोप यस पर्ष पनि लगाईन लागेको छ । विद्यालय जाने किशोरीका हकमा कक्षा ६–१० मा अध्ययरत सबै र विद्यालय नजानेका हकमा १०–१४ वर्ष उमेरका किशोरीलाई खोप लगाईन लागेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कन्ट्रोल भेक्टर निरिक्षक हरि भट्टले जानकारी दिए ।
उनका अनुसार खोप अभियान माघ २७, २८ र २९ गते गरी तीन दिन सञ्चालन हुनेछ । अभियान अन्तगरत जिल्लाभर एक हजार ५१६ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ । गत वर्ष लक्षित समूहका ९४ प्रतिशत किशोरीहरू लाई एचपिभी खोप लगाएको थियो । यस वर्ष शतप्रतिशत पहुँचमा खोप पुर्याउने लक्ष्य राखिएको उनले बताए ।
स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशर साउदका अनुसार हाल नेपालमा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी १ दशमलब ३१३ जना महिलाहरुको मृत्यु अर्थात दैनिक चार जना महिलाको मृत्यु हुने गरेको अनुमान छ । महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको हो भने क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो कारण रहेको उनले बताए । हरेक वर्ष दुई हजार १६९ महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान रहेको उनले जानकारी दिए । यस कारण किशोरीहरु लाई एचपिभी खोप लगाउन लागिएको उनको भनाई छ ।
पुरुष र महिला दुवै जनामा हुने एचपिभीले महिलाको पाठेघरको क्यान्सर गराउछ । उनले भने, पाठेघरको मुखको क्यान्सर भएको छ, छैन भनी जाँच गराउनु पर्ने हुन्छ । ३० वर्ष उमेर पुगेका महिलाहरुले प्रत्येक तीन/तीन वर्षमा अनिवार्य रुपमा पाठेघरको मुखको जाँच गराउनु पर्ने हुन्छ । तर हाम्रो समुदायमा यसो हुन सकेको छैन । त्यस कारण रोग लाग्नुभन्दा लाग्न नै नदिन किशोरीहरु लाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाईन लागेको हो ।
उनका अनुसार किशोरी रजस्वला सुरु हुन अगाडी नै वा यौन सम्पर्कमा आउनु अघि नै एचपिभी खोप लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सकिन्छ । त्यसैले १०–१४ वर्ष उमेरका किशोरीलाई खोप लगाईन लागेको उनले बताए । क्यान्सर भइसके पछि उपचार गर्न नेपालीहरुको आयश्रोतभन्दा बढी खर्च करिब १० लाख बढी खर्च हुने भएकाले रोग लाग्न नदिन खोप अभियान संचालन गरिएको उनले बताए ।
डडेल्धुराका किशोरीहरुलाई एचपिभी खोप लगाईन लागेको यो तेस्रो पटक हो । पहिलो पटक २०८० मा नेपाल सरकारका सात वटा प्रादेशिक अस्पतालबाट लगाईने भनिएको खोप सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालबाट एक सय ८१ किशोरीहरु लाई लगाईएको थियो ।
दोस्रो पठक गत वर्ष २०८१ माघ २२ गते देखि फागुन ६ गते सम्म डडेल्धुराका कुल ६ हजार ९६८ किशोरीलाई यो खोप लगाउने लक्ष्य राखिएको थियो । उनका अनुसार विद्यालयमा रहेका किशोरीको संख्या ६ हजार ९६२ र विद्यालय बाहिर रहेका किशोरीहरुको संख्या २४ रहेको तथ्यांक थियो ।












