काठमाडौँ। निर्वाचन आयोगले हरेक पल्ट भएका मतदानमा पाँचदेखि १५ प्रतिशतसम्म मत बदर भएर खेर गयो भन्ने तथ्य दिने गरेको छ । आयोगले देशैभर मतदाता शिक्षा दिने तयारी थालेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा मतदातामा भने मत कसरी नबिगारी दिने भन्ने चिन्ता बढेको छ ।
सुन्धारामा भेटिएकी सुनमाया महर्जन भन्छिन, “यो पटक भने राम्ररी भोट दिउँ भन्ने हो तर खै यस पटक सरकारले सिकाउनै आएको छैन ।” आयोगले फागुन ३ गतेदेखि देशव्यापी रूपमा मतदाता शिक्षाको सुरुवात गर्ने गरी कार्यसूची अघि बढाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन आयोगले मतदाता शिक्षा दिँदा पहिलेको तुलनामा बदरमत हरेक प्रदेश र जिल्लामा कम आओस् भनेर चाहेको प्रवक्ता भट्टराई औँल्याउछन ।
जस अनुसार आयोगले देशका ७७ जिल्लाका जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति र मतदाता शिक्षा अनुगमनकर्ता नियुक्त गर्न भनिसकेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । उनका अनुसार आयोगको कार्यसूचीमा आयोगले गर्नुपर्ने अधिकांश काम कम हुँदै गएको छ । जिल्ला निर्वाचन कार्यालयले गर्नुपर्ने काम भने बढ्दै छ ।
उनले भने, “यो पटक हामीले डिजिटल मतदाता शिक्षालाई जोड दिएका छौँ, पहिले त्यो तालिम स्वयंसेवकले लिन्छन् र त्यसपछि मतदाताका घरदैलो पुगेर डिजिटल माध्यमबाटै सिकाउँछन् ।”
सिकाउने क्रममा हातहातमा रहेका मोबाइल फोनको उच्चतम प्रविधिको प्रयोगको शिक्षासँगै कसरी आयोगले जारी गरेको सिकाइयुक्त सूचनामा पहुँच पुर्याउने भन्ने कुरा मतदाताका लागि यस पटक नयाँ हुने भएको छ । यस डिजिटल सिकाइले आयोगमा आमनागरिकको आबद्धतासँगै अपनत्वको भाव बढाउने उद्देश्य पनि रहेको घिमिरेले प्रस्ट पारे । न्यून कागजपत्रको प्रयोग गरेर वातावरणमैत्री निर्वाचन गराउने अभिप्राय अनुसार आयोगले जिल्ला निर्वाचन कार्यालयलाई त्यही अनुसार तयार पारेको छ ।












