इरानी सर्वोच्च नेता खामेनेई मारिएको दाबी

Image

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन । अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हमलामा इरानका सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पले बताएका हुन ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै खामेनेई इतिहासकै अत्यन्त खराब व्यक्तिमध्ये एक रहेको उल्लेख गर्दै उनी मारिएको दाबी गरेका छन ।

बीबीसीका अनुसार शनिबार बिहान राजधानी तेहरानस्थित खामेनेइको आवास क्षेत्रमा भएको आक्रमणपछि लिइएका उपग्रह तस्बिरहरूमा क्षति देखिएको जनाइएको छ । त्यसपछि इजरायली प्रधानमन्त्रीले खामेनेइ अब जीवित नरहेको सङ्केत देखिएको बताए ।

यद्यपि इरानले भने खामेनेइको मृत्यु पुष्टि गरेको छैन । आक्रमणका क्रममा देशभर दर्जनौँ व्यक्तिको मृत्यु भएको बताइएको छ । त्यसको जवाफमा इरानले मध्यपूर्वका विभिन्न स्थानमा हमला गरेको छ । अमेरिकी सैन्य आधार रहेका तथा अमेरिकासँग गठबन्धन भएका केही देशमा पनि आक्रमण भएको जनाइएको छ ।

ट्रम्पले उक्त कारबाहीलाई इरानी जनता तथा अमेरिकी नागरिकका लागि न्याय भएको बताएका छन । उनले अमेरिका र इजरायलले संयुक्त रूपमा सञ्चालन गरेको गुप्तचर तथा निगरानी प्रणालीका कारण खामेनेइ बच्न नसकेको दाबी गरेका छन ।

ट्रम्पले इरानी जनताले आफ्नो देशको नेतृत्व पुनः प्राप्त गर्ने यो महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै आवश्यक परे थप बम आक्रमण जारी रहने चेतावनी पनि दिएका छन ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले भने खामेनेइ जीवित रहेको जनाएका छन् । सरकारी समाचार संस्था तस्निम–मेहरका अनुसार खामेनेइले परिस्थितिको नेतृत्व गरिरहेका छन ।

इरानका विदेशमन्त्रीले अमेरिका र इजरायलले बिना उक्साहट गैरकानुनी युद्ध सुरु गरेको आरोप लगाएका छन ।

संयुक्त राष्ट्रका महासचिवसहित ब्राजिलदेखि चीनसम्मका विश्व नेताहरूले आक्रमणको आलोचना गरेका छन् । बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै इरानलाई थप आक्रमण नगर्न र हतियार कार्यक्रम त्याग्न आग्रह गरेका छन् । यस विषयमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक शनिबार बसेको थियो ।

यसअघि अमेरिका र इरानबिच इरानको आणविक कार्यक्रम नियन्त्रण गर्ने विषयमा तीन चरण वार्ता भएको थियो । आगामी साता थप वार्ता हुने अपेक्षा गरिएको थियो र मध्यस्थकर्ताहरूले सम्झौता नजिक पुगेको बताएका थिए ।