टिम अस्पताल डडेल्धुरामा विशेषज्ञ चिकित्सकद्धारा उपचार गरिदै

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ तुफानडाँडामा सञ्चालनमा आएको टिम अस्पताल प्रालिले विशेषज्ञ चिकित्सकबाट सेवा दिने भएको छ । आफ्नो सेवा विस्तारलाई निरन्तरता दिँदै वैशाख १२ गते विशेषज्ञ चिकित्सक बोलाउने अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष हरीसिंह धामीका अनुसार उक्त दिन हाडजोर्नी, मेरुदण्ड तथा नशारोग विशेषज्ञ डा. रमेश जोशी र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रिचा भट्टराईले टिम अस्पतालबाट सेवा दिनेछन् ।

अस्पतालले चैत ७ गतेदेखि सेवा सुरु गरेको थियो । एक महिनाको अवधिमा स्क्रिनिङ गरिएका अधिकांश बिरामीहरू हाडजोर्नी, मेरुदण्ड, नशा तथा स्त्रीरोगसम्बन्धी समस्या लिएर आएको पाइएकोले सोही अनुसार विशेषज्ञ चिकित्सक ल्याउने व्यवस्था गरिएको अस्पताल प्रशासक सुरेन्द्र जैरुले जानकारी दिए ।

अस्पतालले आगामी दिनमा हरेक साता विशेषज्ञ चिकित्सकद्धारा सेवा उपलब्ध गराउने योजना बनाएको छ । हाल अस्पतालमा २४ घण्टा ओपीडी सेवा, एक्स-रे, भिडियो एक्स-रे (अल्ट्रासाउन्ड), नेबुलाइजर, ईसीजी, प्रयोगशाला तथा फार्मेसी सेवा नियमित रूपमा सञ्चालनमा छन् ।

अस्पतालले सेवा सुरु गरेको अवसरमा चैत ७ देखि ३० गतेसम्म सञ्चालन गरिएको निःशुल्क शुगर तथा किड्नी परीक्षण शिविरमा ५३७ जनाले सेवा लिएको उनले जानकारी दिए।