जोगबुडामा झाडापखालाले सात वर्षीय बालकको मृत्यु, तीन जना अस्पताल भर्ना

Image

डडेल्धुरा । जिल्लाको भित्रिमधेश जोगबुडामा झाडापखालाले एक जना बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरेको परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपले र बालकको मृत्युले एकै घरमा शोक छाएको छ । एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला लागेपछि अस्पताल लैजादै गर्दा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखला लाग्दा मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना भएका छन । उनीहरुको हाल उपचार भईरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक चिन्ताले डराएर प्रभावित भएको उनले बताए ।

झाडापखला लागेका उनीहरूमा हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए । प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशंका गरिएको छ । उनले भने, हाल उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।