डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरापालिकाले योजना निर्माण गर्न ठाउँ दिन नसक्दा करोडौ रकमका योजनाको काम सुरु हुन सकेको छैन । अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापन र दुई वटा स्मार्ट शौचालय निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले ठेक्का खोलेको थियो । तर आवश्यक जमिन र ठाउँ उपलब्ध गराउन नसक्दा ठेक्का भएका योजनाको काम सुरु हुन नसकेको अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले बताए ।
शुक्रबार उद्योग वाणिज्य संघ डडेल्धुराको नयाँ चयन भएको समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा धन्यवाद कार्यक्रममा उनले स्थानीयले विरोध जनाउने भएका कारण फोहोर व्यवस्थापन र शौचालय निर्माणका लागि ठाउँ दिन नसकेको बताए । फोहोर हाम्रो तिर नल्याउनु भनेर विरोध हुदा जमिन खरिद गरेको भए पनि ठेक्का लगाउन सकिएको छैन । उनले भने, कुनै पनि वडामा फोहोर व्यवस्थापनकालागि सहमती जुट्न सकेको छैन । वडा नं. ६ को एक जंगलमा आवादी जमिन खरिद गरेपनि स्थानीयको विरोध जनाउदै आएकाले योजनाको काम सुरु हुन सकेको छैन ।
यस्तै वडा नं. ५ को मुख्य बजार तुफानडाडा चोकमा पुरानो पानी टंकी रहेको स्थानमा शौचालय निर्माणका लागि आवश्यक पहल गरे पनि स्थानीयले विरोध जनाएकाले काम सुरु हुन नसकेको उनले बताए । काम गरौभन्दा नगरबासीले नै विरोध जनाउनु हुन्छ । अनि मेयरले केही काम गरेन भन्नुभन्नु हुन्छ । उनले गुनसो गर्दै भने, मैले एक्लैले गर्न सक्ने हो र ? उद्योगी, व्यपारी, नागरिक समाज, नगरबासीे सबैले सहयोग गरे काम अघि बढ्न । विकास पनि हुन्छ ।
सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई प्राबिधिक दिपक ओझाका अनुसार फोहोर व्यवस्थापनका लागि करिब चार करोड रकम बराबरको ठेक्का सदर भईसकेको छ । उनका अनुसार स्थानीयले विरोध जनाए पछि निर्माण कम्पनीसंग हालसम्म सम्झौता हुन सकेको छैन । अमरगढी नगरपालिकाले स्थानीयहरुसंग आवश्यक समन्वय गरिसकेकाले हामिले केही दिन अघि निर्माण कम्पनीलाई सम्झौताका लागि पत्र काटि सकेको छौ । उनले भने, केही दिन भित्रै सम्झौता हुन्छ होला ।
उनका अनुसार एकिकृत सहरी पूर्वाधार निर्माण योजना अन्तरगत डडेल्धुरा छोटो दुरीका दुई वटा सडकहरु कालोपत्रेसंगै कृषि बजार र शौचालय निर्माणका लागि १० करोड रकमको ठेक्का सम्झौता भएको थियो । गत वर्ष नै भएको ठेक्का सम्झौतामा जिल्ला सदरमुकामको वडा नं. ४ खलंगा–टुडीखेल सडक कालोपत्रे, वडा नं. २ को कुस्माली–मौरडा सडक कालोपत्रे गर्ने काम भईरहेको र बागबजार नजिकै कृषि बजारका लागि भवन निर्माण भईरहेको उनले जानकारी दिए । यसै ठेक्कामा दुई वटा शैचालय निर्माणको योजना पनि भएकाले हालसम्म ठाउँ उपलब्ध नहुदा शौचालय निर्माणको काम सुरु हुन नसको उनले बताए ।
अमरगढी नगरपालिकाका कार्यालय प्रमुख लक्ष्मि उपाध्यायका अनुसार अमरगढी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि एक वर्ष पहिले नै १४ रोपनी जमिन खरिद गरेको थियो । १८ लाख रुपियाँमा नगरपालिकाले जमिन खरिद गरि फोहोर व्यवस्थापनका लागि वातावणीय प्रभाव मूल्यांकनसमेत गरिएको छ । फोहर व्यवस्थापनकै लागि सरकारी दररेटमा उक्त जमिन खरिद गरिएको उनले जानकारी दिए ।












