प्रदेश स्तरिय राष्ट्रपती रनिंग शिल्ड डडेल्धुरामा गर्न सिफारिस

Image

डडेल्धुरा । प्रदेश स्तरिय राष्ट्रपती रनिंग शिल्ड प्रतियोगिता डडेल्धुरामा गर्न सिफारिस गरिएको छ । डडेल्धुरा खेलकुद समितिले नयाँ नेतृत्व पाएपछि प्रदेश स्तरिय प्रतियोगिता संचालन गर्न सामाजिक विकास मन्त्रालयमा सिफारिस गरेएको अध्यक्ष जगत ऐरले जानकारी दिए । जिल्ला खेलकुद समितिले बिहिबार पहिलो पटक डडेल्धुरा जिल्लाको समग्र खेल विकास एवं प्रतियोगिताहरु आयोजक, संचालन विषयक सरोकारवालाहरु संग अन्तरक्रिया कार्याक्रमको आयोजना गरि सुझावसमेत संकलन गरिएको छ ।

केही दिन अघि मात्रै जिल्ला खेलकुद समतिको अध्यक्षमा नियुक्त भएका ऐरले खेलकुद समितिको अवस्था नाजुक रहेको जानकारी दिदै नयाँ निर्माण भएको सेमी कभर्डहल फिनिसिंगका लागि १५ लाख रकम सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको बताए । कार्यालयसंग आवश्यक फर्निचर कुर्सी, सोफालगायत कार्यालय संचालनका लागी आवश्यक सामाग्री नभएको बताउदै उनले अमरगढी नगरपालिका, सामाजिक विकास मन्त्रालयले हाल केही सहयोग गरेको जानकारी दिए ।

अमरगढी नगरपालिका-६ को भजनपुरमा क्रिकेट मैदान निर्माणका लागि पनि १५ लाख रकम उपलब्ध भएको उनले जानकारी दिए । जिल्लामा खेलकुद गतिबिधि गर्न आवश्यक खेलमैदान र पूर्वाधार संरचनाको अभाव भएको उल्लेख गर्दै उनले सरोकारवाला सबैले खेलकुदका गतिबिधि मार्फत समग्र जिल्लाको विकास लागि आवश्यक पहल गर्न आग्रह गरे ।

डडेल्धुरा खेलकुद समितिका कार्यालय प्रमुख डम्बर भण्डारीले दुई वर्ष अघि चार कोठे भवनसंगै सेमी कभर्डहल निर्माण गरिए पनि हस्तान्तरण नभएको जानकारी दिए । उनका अनुसार भित्रिमधेशको जोगबुडा लालढुं·मा कभर्डहल निर्माण भएको, एक स्थानीय तह एक खेलमैदान निर्माण भए पनि आवश्यक भौतिक पूर्वाधारहरु निर्माण हुन नसक्दा खेलकुदका गतिबिधि संचालनमा समस्या भएको बताए ।

उनका अनुसार टुडीखेल नजिकै अमरगढी नगरपालिका-५ घोबिखोलामा केही वर्ष पहिले रंगशाला निर्माणका लागि जमिन सम्याउने काम भएको थियो । डिपिआरसमेत भएको उक्त रंगशाला निर्माणका लागि गत वर्ष पनि जमिन सम्याउने काम भए पनि रंगशाला निर्माणले पूर्णता पाउन सकेको छैन । २०७४ सालमै रंगशाला र क्रिकेट मैदान निर्माणका लागि डिपिआर निर्माण गरिए पनि बजेट अभावमा पूर्वाधार निर्माणले गति लिन नसक्दा डडेल्धुरा जिल्ला खेलकुदका गतिबिधिमा पछि परेको उनले बताए ।