डडेल्धुरा । गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाको मुकाम वडा नं. २ देवखेतमा निर्माण गरिएको अस्पताल बुधबारदेखि सेवा प्रवाहमा ल्याइएको हो।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले पूजा–आराधनासहित अस्पताल भवनको उद्घाटन गर्दै सेवा सुरु गरेका छन । अध्यक्ष कार्कीले अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकले आफ्नै गाउँमै सहज रूपमा स्वास्थ्य सेवा पाउने बताए । उनले अब उपचारका लागि डडेल्धुरा सदरमुकाम, धनगढी, नेपालगञ्ज वा काठमाडौंसम्म धाउनुपर्ने बाध्यता क्रमशः हट्ने विश्वास व्यक्त गरे।
संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब १३ करोड रुपैयाँ लागतमा अस्पताल निर्माण सम्पन्न भएको हो । अध्यक्ष कार्कीका अनुसार आगामी दिनमा थप विशेषज्ञ सेवा समेत गाउँमै उपलब्ध गराउने योजना रहेको छ।
उद्घाटनसँगै एक जना एमबीबीएस चिकित्सकसहित स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी दिइन्। उपाध्यक्ष देउवाले अस्पताल निर्माणदेखि सञ्चालनसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण गन्यापधुराबासी र सहयोगीहरूप्रति आभार व्यक्त गरिन्।
जिल्लामा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने गन्यापधुरा पहिलो स्थानीय तह बनेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७७ मा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो।
उक्त कार्यक्रमअन्तर्गत डडेल्धुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा भने अस्पताल निर्माण कार्य अझै अलपत्र रहेको छ। बजेट अभाव तथा ठेकेदारको ढिलासुस्तीका कारण निर्माण कार्य प्रभावित भएको बताइएको छ।















