हुरीबतासले डडेल्धुराका विद्यालय, वडा कार्यालयसंगै घरमा क्षति

Image

डडेल्धुरा । आइतवार दिउँसो चलेको हुरीबतासले विद्यालय, वडा कार्यालय र नीजि घरहरुमा ठूलो क्षती पुगाएको छ । हुरीबतासका कारण शैक्षिक संस्था, सरकारी कार्यालय तथा सर्वसाधारणका घरहरूको छानो उडाउदै क्षती पुगाएको हो ।

हावाहुरीले जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा क्षति पुगाएको छ । विद्यालयका प्रधानाध्यापकको कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ भने कर्मचारी कक्षमासमेत क्षति पुगेको छ । यसकासाथै, सीसीटीभी, कम्प्युटर, फर्निचर र प्रिन्टरलगायत सामग्रीमा पनि नोक्सानी भएको महेन्द्र माविका शिक्षक अशोक बलमे जानकारी दिए । उनका अनुसार पक्कि भवनको माथि बनाईएको प्रिफ््यापले बनाईएको कोठाको छानोसंगै दिवार पनि भत्किएपछि ठूलो क्षती भएको हो ।

यस्तै, अमरगढी नगरपालिका–३ स्थित वडा कार्यालयको छाना उडाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । हावाहुरीकै कारण अमरगढी नगरपालिका–५ खलंगाका स्थानीय गंगा पालपालीको घरको छाना उड्नुकासाथै विद्युत् मिटर बक्समा समेत क्षति पुगेको छ । यस्तै, गन्यापधुरा गाउँपालिका ४, जैसेरास्थित भुवनेश्वरी माध्यमिक विद्यालयको सभाकक्ष र छात्रा शौचालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन ।

वडा अध्यक्ष नरेशकुमार भट्टका अनुसार करिब दुई कोठे बराबरको सभाहलको छानो फलामका रड प्रयोग गरि जस्ता पाताले छाएको थियो । उक्त छानो पुरै उडाएको छ भने छात्रा शौचालयएको जस्ताले नै छाएको छानो उडाएको हो ।

हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा अरुघरहरूको छाना उड्नुकासाथै विद्युत् पोलहरू ढलेका छन, जसले गर्दा केही स्थानमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ । दिउसो हुरीबतास चलेपछि जिल्लाभरी नै केही घण्टा बिद्युत आपूर्ती ठप्प भएको थियो । नेपाल बिद्युत प्राधिकररण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख कपिल जोशीका अनुसार हुरीबतासले रुख र रुखका हागाबिगा तारमा खस्दा बिद्युत आपूर्ती ठप्प भएको थियो । राती करिब ९ः०० बजे देखि जिल्लाका केही ग्रामिण वस्तिहरु बाहेक बिद्युत आपूर्ती संचालन गरिएको उनले जानकारी दिए ।

रुख र हाँगा ढलेकैकारण जिल्ला अधिकांस स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । भायोनेटका कर्मचारी सजनसिंह ठकुरीका अनुसार जिल्ला सदरमुकामको अमरगी नगरपालिका ५, ७, ८ लगायतका क्षेत्रहरुमा हिजो दिउसोदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

स्थानीय प्रशासनले क्षतिको विवरण संकलन तथा राहत व्यवस्थापनको काम अघि बढाएको प्रहरीले जनाएको छ ।