प्रधानाध्यापकलाई मोसो र जुताको लगाएपछि प्रहरी अनुसन्धानमा

Image

बैतडी । तल्लो स्वराड क्षेत्र शिवनाथ गाउँपालिका–४ पिपलकोटमा प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो दलेर जुताको माला लगाइएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।

घटनासम्बन्धी तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चासो देखाएको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बैतडीलाई निर्देशन दिएका छन् ।

डीआईजी रानाको निर्देशनपछि घटनामा संलग्नहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलदेव बडुले घटनाको अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गरिने बताए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय मेलौली, प्रहरी चौकी सुल्याखान र कुस्मतघाट प्रहरी चौकीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय एक महिलाले शिक्षक भर्ना परीक्षामा पास गराइदिन प्रधानाध्यापक ओझामाथि दबाब दिएकी थिइन् । तर, ती महिला पहिलो चरणको परीक्षामै असफल भएपछि उनले प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

त्यसपछि स्थानीय र आफन्त मिलेर ओझामाथि कालोमोसो दलेर जुताको माला लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।