बैतडी । विगतका वर्ष जस्तै यस वर्ष पनि हुरीबतासले जिल्लाका आधा दर्जन विद्यालयको जस्तापाताको छाना उडाएर क्षति पु¥याएको छ । स्थानीय जनश्रुति अनुसार ‘वायु’ (हावा) र ‘तड’ (पहाडको टाकुरा) मिलेर बनेको ‘बायोत्तड’ शब्दबाट ‘बैतडी’ जिल्लाको नाम रहन गएकाले पनि बढी हावा चल्ने जिल्लाका रूपमा यो परिचित छ । यद्यपि यहाँका सरकारी संरचना निर्माण गर्दा भूबनोटको ख्याल नगरी जस्तापाताको छाना राख्ने गरिएको छ ।
गत आईतबार चले हुरीबतासले मेलौली नगरपालिका–१ को शीतलपुर मावि र २ नम्बर वडाको सलेनास्थित धर्मघर माध्यमिक विद्यालयका दुई वटा भवनको छाना उडाउँदा लाखौँ रुपियाँको क्षति भएको छ । हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित बनेको धर्मघर माविका प्रधानाध्यापक लोकराज जोशीले बताए । उनले भर्ना अभियान सकेर पढाइ सुरु हुने बेला विद्यालयको छाना उडेको बताए ।
हुरीबतासले जिल्लाका अन्य ठाउँमा पनि क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हुरीबतासले सिगास, दोगडाकेदार, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका विद्यालय, वडा कार्यालय, निजी घर र पसलमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
उनले हुरीबतासबाट दोगडाकेदार गाउँपालिका–३, कपडास्थित जसलिङ आधारभूत विद्यालयको जस्तापाताले छाएको भवनको छानो उडाएको बताए । त्यसै गरी दोकडाकेदार गाउँपालिका–८, कालागाउँस्थित वडा कार्यालय भवनको छानोसमेत हावाहुरीले उडाएको छ ।
हावाहुरीका कारण शिवनाथ गाउँपालिका–१ कुस्मौतघाटस्थित सशस्त्र प्रहरी बलको बिओपी भवनमा समेत क्षति पुगेको उनले बताए । हावाहुरीबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन भइरेको उनले बताए ।
बर्सेनि विद्यालयमा क्षति
हावाहुरीले प्रत्येक वर्ष विद्यालय र सरकारी संरचनामा बढी क्षति हुने गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार हावाहुरीले बर्सेनि १५-२० भन्दा बढी विद्यायको छाना उडाउने गरेको छ ।
स्थानीयस्तरमै पाइने पत्थरको छाना छाडेर कम्पनीका जस्तापाता प्रयोग गर्दा विद्यालयको छानो उडाउने समस्या बढेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए । उनले भूबनोट अनुसार पत्थको छाना बलियो हुने भए पनि पछिल्लो समय जस्तापाताको प्रयोग बढेको बताए ।
उनले भने, “विद्यालयको भवन निर्माण गर्दा भूबनोटको ख्याल गरेको पाइएन । बैतडी बढी हावाहुरी चल्ने जिल्ला भएकाले डिजाइन अनुसार टिनका छाना राखेर बनाइएका भवनमा क्षति हुने गरेको छ ।”
बैतडीको भूबनोटले टिनको छाना दीर्घकालीन हुँदैन भनेर मन्त्रालयमा छलफल भए पनि भवन निर्माण गर्ने निकायका प्राविधिकले डिजाइन परिवर्तन नगरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । उनका अनुसार पत्थरको छाना राखेर बनाएका विद्यालयका भवनमा हावाहुरीले प्रभाव पारेको छैन ।
बैतडीको भूबनोट नै बढी हावा चल्ने भएका कारण पक्की भवनमा ढलानको छत बनाउन सुरु गरेको सामाजिक विकास कार्यालय बैतडीका कार्यालय प्रमुख शङ्करदत्त जोशीले बताए । उनले भने, “चालु आवमा प्रदेश सरकारबाट विद्यालयका २१ वटा भवन निर्माण भइरहेका सबै ढलानसहितका पक्की भवन रहेका छन् ।”
प्राविधिक लागतमै जस्तापाताको प्रयोग बन्द गरिएको उनले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारमातहत रहेर शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक विकास कार्यालयबाट निर्माण भइरहेका नयाँ विद्यालयका सबै भवन ढलान गरेर निर्माण भइरहेको उनले बताए ।
















