डडेल्धुरा । १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा अमरगढी नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। अमरगढीले २९ स्वर्ण, १२ रजत र १० कास्य पदकसहित पहिलो स्थान हासिल गरेको हो।
त्यस्तै, ११ स्वर्ण, १५ रजत र १४ कास्य पदकसहित परशुराम नगरपालिका दोस्रो तथा ७ स्वर्ण, ६ रजत र १८ कास्य पदकसहित आलिताल गाउँपालिका तेस्रो स्थानमा रह्यो। अजयमेरु गाउँपालिकाले ५ स्वर्ण र भागेश्वर गाउँपालिकाले २ स्वर्ण पदक जितेका छन् भने गन्यापधुरा र नवदुर्गा गाउँपालिकाले स्वर्ण पदक जित्न सकेनन्।
अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा बुधबारदेखि सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो। समापन समारोहमा अमरगढी नगरपालिकाका प्रमुख डिल्लिराज जोशी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख जोशीले खेलकुदले युवाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले राष्ट्रपति रनिङ सिल्डले विद्यालय तहमा रहेका प्रतिभावान खेलाडी पहिचान गरी राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने उल्लेख गरे। साथै प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न विजेता खेलाडीहरूलाई शुभकामना दिए।
प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प र मार्सल आर्टलगायत विभिन्न विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जगत ऐरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। यहाँबाट छनोट भएका खेलाडीहरूले अब प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन्।












