निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

Image

डडेल्धुरा । निर्माण सामाग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिका कारण निर्माण उद्योग धरासायी भएको भन्दै निर्माण व्यवसायी संघ, डडेल्धुराले निमित्त प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओलि मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

व्यवसायीहरूले आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नासमेत दिएका थिए। संघका अध्यक्ष रामबहादुर विष्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निर्माण सामाग्री र इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण पुरानै दररेटमा काम गर्न नसकिने र देशभरका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने गम्भीर परिस्थिति सिर्जना भएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार विगतमा प्रति लिटर रु. १३९ रहेको डिजेलको मूल्य रु.हाल २१४ सम्म पुगेको र रु.४५ प्रति केजी रहेको बिटुमीनको मूल्य रु. १२५ सम्म पुग्दा निर्माण व्यवसायीहरूलाई करिब १० अर्बको नोक्सानी भइसकेको छ। छिमेकी मुलुक भारतमा मूल्य समायोजन गरिए पनि नेपालमा पटक(पटकको अनुरोध र अल्टिमेटमलाईसमेत सरकारले बेवास्ता गरेको संघको आरोप छ।

यस्तो विषम परिस्थितिमा काम गर्दा थप घाटा बेहोर्नुपर्ने र व्यवसायीहरू आर्थिक एवं मानसिक दबाबमा परेको भन्दै संघले व्यवसायीलाई कालो सूचीमा राख्ने वा बैंक ग्यारेन्टी जफत गर्ने जस्ता कार्य नगर्न समेत सरकारसँग माग गरेको छ।

सरकारले समयमै मूल्य समायोजनको निर्णय नगरेमा त्यसबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने र आयोजनाहरूको म्याद थप तथा बजेट व्यवस्थापनका लागि समेत संघले जोडदार माग गरेको छ।