परशुराम नगरपालिका ५० हजार डलर पाउने गरि ‘युथ क्लाइमेट एक्सन फन्ड’मा छनोट

Image

डडेल्धुरा । भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका विश्वस्तरमै प्रतिष्ठित ‘ब्लुमबर्ग फिलान्थ्रोपिज’को ‘युथ क्लाइमेट एक्सन फन्ड’ कार्यक्रममा छनोट भएको छ । एसियाका ३५ शहरमध्ये परशुराम नगरपालिका छनोट भएपछि नगरपालिकाले प्रारम्भिक चरणमै ५० हजार अमेरिकी डलर अनुदान प्राप्त गर्ने भएको छ ।

उक्त कार्यक्रम ‘जन्स हप्किन्स विश्वविद्यालयअन्तर्गतको सार्वजनिक नवप्रवर्तन केन्द्र’, ‘सी–४० सिटिज’ तथा ‘युनाइटेड सिटिज एन्ड लोकल गभर्मेन्ट्सको सहकार्यमा सञ्चालन भइरहेको छ ।

नगर प्रमुख भरत बडायर जोशीका अनुसार उक्त कार्यक्रम मार्फत युवाहरूलाई जलवायु परिवर्तन तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्ने अवसर प्रदान हुने छ । विशेषगरी वातावरण संरक्षण, फोहोर व्यवस्थापन, सरसफाइ, हरित सार्वजनिक स्थल निर्माण तथा जलवायु उत्थानशीलताका क्षेत्रमा युवाहरूका नवीन सोच र योजनालाई कार्यान्वयन गरिने उनले बताए ।