पालिकालाई असल कामको प्रचार गर्न सिकाईदै

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पालिकाहरु लाई असल कामको प्रचार गर्न सिकाईदै छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालयले राम्रा कामको प्रचार प्रसार गर्न सिकाई रहेको हो ।

देश संघिय संरचनामा गएपछि बनेका स्थानीय तह पालिकाहरुले नौ वर्षसम्म गरेका राम्रा काम र असल अभ्यासहरुको प्रचारले आगामी वर्षहरुमा मार्गदर्शन गर्नुकासाथै कोरिएको खाकामा नयाँ आउने जनप्रतिनिधिहरु लाई काम गर्न सहज हुने भन्दै असल कामको प्रचार प्रसार गर्न सिकाई रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक ज्ञानेन्द्र बमले बताए ।

डडेल्धुरामा बुधबारदेखि सुरु भएको दुई दिने स्थानीय सरकारका असल अभ्यास, सिकाई तथा अनुभव आदान प्रदान अन्तरक्रिया कार्यक्रममा उनले सिकाई तथा अनुभवलाई आपसमा बाड्दै आउने उत्तराधिकारीहरु लाई सहज हुने बताए । पछिल्ला नौ वर्षमा पालिकाहरुले राम्रो अभ्यास गरिहनु भएको छ । उनले भने, तर केही भएको छैन भन्ने भाष्य सुनिन्छ । आईटीको दुनियामा सुचना प्रबिधिको प्रयोग गरि पालिकाहरुले गरेका कामको प्रचार प्रसार गर्न आवश्यक छ । यसले अत्तराधिकारीलाई काम गर्न सहज बनाउछ ।

विगतका वर्षमा प्रतिष्ठानले गाउँपालिका महासंघ, नगरपालिका संघसंग मिलेर थुप्रै काम गरेको भएपनि यो वर्ष जनप्रतिनिधिहरुको अन्तिम वर्ष भएकाले प्रचार प्रसार गर्न सिकाई रहको उनले जानकारी दिए । अन्तिम वर्षमा गरेका कामको प्रतिफल नदेखिने भएकाले चार वर्षसम्म गरेका कामको प्रचार प्रसार गर्ने वर्षका रुपमा लिनु पर्ने उनले बताए ।

ठूला अन्तराष्ट्रिय संस्थाहरु वल्र्ड बैंक, युएन, डब्लुएचओले पनि आफ्नो अन्तिम वर्षमा प्रतिवेदन बनाउने, रिपोटिंग गर्ने, पहिले र काम गरिसकेपछिको अवस्थाको भिडियो बनाउने कार्य गर्ने भएकाले पालिकाहरुले पनि चुनावको अन्तिम वर्षलाई यसरी नै लिनु पर्ने उनको भनाई थियो ।

प्रतिष्ठानले पाँच वर्ष अघिको अवस्थासंग तुलाना गर्दा स्थानीय जीवन स्तर, जनप्रतिनिधिहरुको बोलीचाली, सामाजिक, आर्थिक, भौतिक रुपमा भएको प्रगतीका बारेमा गरेको अध्ययनले ६० प्रतिशत नतिजा सकरात्मक पाईएको उनले जानकारी दिए । पालिकाहरुले पनि आफुले गरेका कामको यसरी अध्ययन गरि प्रचार गर्नु पर्ने उनले बताए ।

गाउँपालिका महासंघ सुदूरपश्चिमका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले जनप्रतिनिधको पाँचौ वर्ष फिनिसिंगको वर्ष भएको भन्दै चौथो वर्ष प्रचार प्रसारको वर्षका रुपमा लिईएको बताए । विगतका नौ वर्षमा गरिएका कामको प्रचार प्रसार गर्न नसकिदा जस पाउन नसकेको भन्दै उनले असल अभ्यासहरु सिस्टममा अपडेड गरिए पनि प्रचार प्रसार गर्न आवश्यक रहेको जिकिर गरे ।

अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाहरु मध्ये पाँच वटा नगरपालिका र १७ वटा गाउँपालिका प्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलगायत प्रतिनिधिहरु उपस्थित थिए । पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले आफ्नो पालिकाले गरेका असल अभ्यासको प्रश्तुतीकरण गरिरहेका छन ।