जंगलबीचको मैदानमा खेल महोत्सवको तयारी, जिल्लामा उत्साह
डडेल्धुरा । सुदूरपश्चिमका नौ जिल्लाबाट आउने सयौं खेलाडी, प्रशिक्षक, रेफ्री र खेलप्रेमीको चहलपहलले अब केही दिनमै डडेल्धुरा गुञ्जिने भएको छ । कारण हो— पहिलो पटक यहाँ आयोजना हुन लागेको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ।
जेठ १४ गतेदेखि सुरु हुने प्रतियोगिताले अहिले जिल्लामा खेलकुदमात्र होइन, समग्र वातावरणलाई नै उत्साहपूर्ण बनाइदिएको छ । सामान्यतया प्रशासनिक र शैक्षिक गतिविधिमा सीमित रहने जिल्ला सदरमुकाम अब प्रदेशस्तरीय खेल महोत्सवको केन्द्र बन्ने तयारीमा छ ।
प्रतियोगिता आयोजना हुने मैदान भने कुनै अत्याधुनिक रंगशाला होइन । सदरमुकामस्थित अमरगढी नगरपालिका–४ मा रहेको सुनधारा–धोबीखोला क्षेत्रको खुला मैदान अहिले खेलकुदको रंगले सजिँदैछ । केही वर्षअघि खनिएको र गत वर्ष सम्याइएको उक्त मैदानमा अहिले धमाधम तयारी भइरहेको छ ।
जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरका अनुसार प्रतियोगिता सफल बनाउन विभिन्न समिति गठन गरेर काम अघि बढाइएको छ ।
“प्रदेशभरका खेलाडी र पाहुनालाई स्वागत गर्न जिल्लाले सक्दो तयारी गरिरहेको छ,” उनले भने, “यो प्रतियोगिता खेलकुदमात्र होइन, डडेल्धुराको पहिचान र सम्भावना देखाउने अवसर पनि हो ।”
पूर्वाधार कमजोर, उत्साह बलियो
प्रतियोगिता हुने मैदान प्राकृतिक रूपमा आकर्षक भए पनि त्यहाँ आधारभूत पूर्वाधारको अभाव छ । जंगलको बीचमा रहेको मैदानमा हालसम्म स्थायी शौचालय, चेञ्जिङ रुम, खानेपानी वा खाजाघरसमेत छैनन् ।
तर, सीमित स्रोतसाधनकै बीच आयोजकले अस्थायी संरचना निर्माण गरेर प्रतियोगिता सम्पन्न गर्ने तयारी थालेका छन् । स्थानीय तह, सुरक्षा निकाय, विद्यालय, होटल व्यवसायी र स्वयंसेवकहरू समेत तयारीमा जुटेका छन् ।
बजारभन्दा करिब एक किलोमिटर टाढा रहेको मैदानमा अहिले सरसफाइ, लेभलिङ, दर्शक बस्ने स्थान व्यवस्थापन तथा खेल सामग्री तयारीको काम भइरहेको छ ।
एक हजारभन्दा बढी खेलाडी आउने
आयोजकका अनुसार सुदूरपश्चिमका नौ जिल्लाबाट १ हजार २०० भन्दा बढी खेलाडी छनोट भइसकेका छन् । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँतेलगायत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।
विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई प्रदेशस्तरमा ल्याएर राष्ट्रिय प्रतियोगिताका लागि छनोट गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड आयोजना हुँदै आएको छ ।
यसपटक डडेल्धुरामा हुने प्रतियोगिताले यहाँका युवामा खेलकुदप्रति थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । स्थानीय खेलाडीहरू पनि आफ्नै जिल्लामा प्रदेशस्तरीय प्रतियोगिता हेर्न र सहभागिता जनाउन उत्साहित देखिन्छन् ।
खेलसँगै जिल्लाको प्रचार
प्रदेशस्तरीय प्रतियोगिताले जिल्लाको पर्यटन, होटल व्यवसाय र स्थानीय बजारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
अत्यधिक गर्मी नहुने, हरियाली जंगल र पहाडी भू–दृश्यले घेरिएको डडेल्धुरा खेलकुदका लागि उपयुक्त वातावरण भएको जिल्ला मानिन्छ । तर, पर्याप्त खेल पूर्वाधार अभावका कारण ठूला प्रतियोगिता कमै आयोजना हुने गरेका थिए ।
यसपटकको प्रतियोगिताले जिल्लामा खेल पूर्वाधार विकासको बहसलाई समेत बल पुर्याउने स्थानीयको अपेक्षा छ ।
स्थानीयवासीहरू भन्छन्—“यदि यो प्रतियोगिता सफल भयो भने भविष्यमा अझ ठूला खेलकुद कार्यक्रम डडेल्धुरामा ल्याउन सकिन्छ ।”जंगलको बीचमा रहेको साधारण मैदान अहिले हजारौं सपनाको केन्द्र बनेको छ । र, डडेल्धुरा पहिलो पटक प्रदेशस्तरीय खेल इतिहास लेख्ने तयारीमा छ ।












