अभिभावक शिक्षा तालिमले गन्यापधुराका शिक्षकमा नयाँ ऊर्जा

Image

डडेल्धुरा । जिल्ला सदरमुकाममा सञ्चालन गरिएको दुई दिने अभिभावक शिक्षा तालिमले सामुदायिक विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूमा नयाँ उत्साह थपेको छ । सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा सम्पन्न तालिमले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक, शिक्षक र विद्यालयबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

गन्यापधुरा गाउँपालिकाका सामुदायिक विद्यालयका ४० जना प्रधानाध्यापक तथा बाल विकास शिक्षक सहभागी रहेको तालिममा बालबालिकाको मनोविज्ञान बुझ्ने, विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने र सहज सिकाइ वातावरण तयार गर्ने विषयमा विशेष सहजीकरण गरिएको थियो । समूहगत छलफल, व्यवहारिक अभ्यास र अनुभव आदान प्रदानमार्फत शिक्षकहरूलाई आधुनिक शिक्षण पद्धतिसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।

सामाजिक विकास कार्यालयका प्रमुख मीनबहादुर लामिछानेले विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य बलियो बनाउन तालिम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले समुदायस्तरमै अभिभावक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

मुख्य सहजकर्ता शरलाकुमारी ठकुराठीले तालिमबाट सिकेका विषय व्यवहारमा लागू गर्न सके विद्यालयको सिकाइ वातावरण अझ सकारात्मक बन्ने बताइन । उनका अनुसार शिक्षकहरूमा नयाँ सोच, व्यवहारिक सीप र जिम्मेवारीबोध विकास गराउनु तालिमको मुख्य उद्देश्य हो ।

सहभागी शिक्षक तेजबहादुर पनेरूले तालिमलाई अनुभव आदान प्रदानको उत्कृष्ट अवसरका रूपमा व्याख्या गर्दै प्राप्त ज्ञान अन्य शिक्षक र अभिभावकसम्म पुर्‍याउने बताए । उनले अहिले विद्यार्थीहरू प्रविधिको प्रयोगमा निकै अगाडि बढिरहेको उल्लेख गर्दै शिक्षकहरू पनि समयअनुसार प्रविधिमैत्री बन्नुपर्ने धारणा राखे ।

त्यस्तै शिक्षिका यशोदा भण्डारीले अभिभावक, प्रधानाध्यापक र शिक्षकको भूमिकाबारे स्पष्ट जानकारी पाएको बताइन । आगामी दिनमा अभिभावकलाई समेत सहभागी गराएर यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव उनले दिइन ।

सामाजिक विकास कायालयका प्राविधिक सहायक भोजबहादुर चुनाराले सिकेका सीपलाई विद्यालयमा व्यवहारिक रूपमा लागू गर्न आग्रह गर्दै इमानदारिता, लगनशीलता र सामूहिक प्रयासबाट विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सकिने बताए ।

डडेल्धुरामा सम्पन्न यो तालिमले शिक्षकहरूमा केवल नयाँ ज्ञान मात्र नभई समुदायसँग सहकार्य गर्दै विद्यालय सुधार गर्न सकिने आत्मविश्वाससमेत बढाएको सहभागीहरूको भनाइ छ ।