असिनापानीले बैतडीको तरकारी तथा अन्नबालीमा ठूलो क्षति

Image

बैतडी । हावाहुरीसहित परेको असिनापानीले तरकारी तथा अन्नबालीमा क्षति पुर्‍याएको छ । विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रमा बेमौसमी तरकारी खेती तथा उम्रिन लागेका मकै, भटमासलगायत अन्नबालीमा मङ्गलबार अपराह्न परेको असिनाले ठुलो क्षति गरेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।

मेलौली नगरपालिका–१, ४, ५, ६ र ७ नम्बर वडामा बढी क्षति भएको वडा नं. १ का अध्यक्ष शरदसिंह नेगीले बताए । केही दिनमै गोड्ने तयारीमा रहेको मकै तथा फल्न लागेका टमाटरका बिरुवा असिनाले नष्ट गरिदिएको किसान चिन्तामणि भट्टले जानकारी दिए ।

धेरै मेहनत र लगानी गरेर लगाइएको मकैबाली असिनाले सखाप पारेपछि वर्षभरि मानिस र पशुचौपायालाई पुग्ने खेतीबालीमा ठुलो क्षति पुगेको किसान सुनिता दयालले बताए ।

मेलौली नगरपालिकाका अधिकांश क्षेत्रमा किसानहरूले लगाएको तरकारीका ब्याड, मकै, भटमास, खुर्सानी, भन्टालगायत बालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

उम्रिएर गोड्ने बेला भएको गहुँ र जौँबालीसमेत असिनाले नष्ट पारेपछि उत्पादन घट्ने चिन्तामा किसानहरू परेको वडा नं। ४ का अध्यक्ष कर्णबहादुर चन्दले बताए ।

जिल्लाभर कति क्षति भयो भन्ने पूर्ण विवरण भने अझै सङ्कलन हुन बाँकी रहेको छ । असिनापानीसँगै आएको हावाहुरीपछि बैतडीमा चिसोसमेत बढेको महसुस गरिएको छ ।