डडेल्धुरामा गुञ्जियो खेलकुदको उत्साह, सुरु भयो सुदूरपश्चिम प्रदेशस्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड

Image

डडेल्धुरा । पहाडी जिल्लामा पहिलो पटक सुदूरपश्चिम प्रदेशस्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाका माध्यमिक तहका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ ।

जिल्ला सदरमुकाम स्थित अमरगढी नगरपालिका ४ तल्लो खलंगाको टेडीखेलामा ओजित प्रतियोगिताको नगबिहीबारसुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले दीप प्रज्वलन गर्दै प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रतियोगिता पहिलो पटक डडेल्धुरामा आयोजना हुनु पहाडी जिल्लाका लागि सकारात्मक सुरुवात भएको बताए । उनले विगतमा अधिकांश प्रदेशस्तरीय खेल प्रतियोगिता कैलाली र कञ्चनपुरमै सीमित हुने गरेको उल्लेख गर्दै अब अन्य पहाडी जिल्लाले पनि यस्ता प्रतियोगिता आयोजना गर्न सक्ने वातावरण बनेको बताए ।

तराईमा अहिले ४५ डिग्रीसम्म तापक्रम पुगेको छ । यस्तो अवस्थामा डडेल्धुराजस्तो शितल ठाउँमा प्रतियोगिता आयोजना हुनु भविष्यका लागि राम्रो संकेत हो, उनले भने ।

मन्त्री खड्काले सुदूरपश्चिम प्रदेश सामाजिक सूचकांकमा अझै पछाडि रहेको स्वीकार गर्दै प्रदेश खेलकुदमा भने निकै अगाडि रहेको दाबी गरे । उनले सुदूरपश्चिममा गरिबी, शिशु मृत्युदर, मातृ मृत्युदर र बाल मृत्युदर उच्च भए पनि खेलकुद क्षेत्रमा सुदूरपश्चिमले देशमै पहिचान बनाएको उल्लेख गरे ।

हामी एउटै कुरामा धनी छौं, त्यो हो खेलकुद र खेलाडी, उनले भने, सुदूरपश्चिमका खेलाडीले देशकै लागि खेलेका छन् । क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले राष्ट्रिय टोलीको नेतृत्व गरिरहनुभएको छ भने तेक्वान्दोमा दीपक बिष्टले इतिहास बनाउनु भएको छ ।

उनले भलिबल, एथलेटिक्सलगायत विभिन्न खेलमा पनि सुदूरपश्चिमका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफलता हासिल गरेको उल्लेख गर्दै खेलकुदको विकाससँगै समग्र प्रदेशको विकास जोडिएको बताए ।
यद्यपि पर्याप्त बजेट अभावका कारण खेल पूर्वाधार निर्माण र खेलाडी व्यवस्थापनमा समस्या रहेको उनको भनाइ थियो । प्रदेश सरकारका प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र सिँचाइ जस्ता क्षेत्र पर्ने भएकाले खेलकुदले अपेक्षित प्राथमिकता पाउन नसकेको उहाँले स्वीकार गरे ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकराज खड्काले पनि बजेट अभावकै कारण प्रतियोगिता आयोजना गर्न चुनौती हुने गरेको बताए । उनका अनुसार फागुनमै सम्पन्न हुनुपर्ने प्रतियोगिता बजेट निकासा ढिलो हुँदा जेठमा गर्नु परेको हो ।

वर्षको अन्तिममा मात्रै बजेट आउँछ, त्यो पनि पर्याप्त हुँदैन, उनले भने, कुल बजेटको कम्तीमा एक प्रतिशत खेलकुद क्षेत्रमा छुट्याइए खेलाडी पलायन हुने अवस्था अन्त्य हुन सक्छ ।

डडेल्धुरा खेलकुद समितिका अध्यक्ष जगत ऐरले खेलकुदलाई सरकारले पर्याप्त प्राथमिकता दिनुपर्नेमा जोड दिए । खेलकुदको विकासले पर्यटन, कृषि र सामाजिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।

प्रतियोगिता टुँडिखेल, कभर्डहल, धोबीखोला सुन्धारा मैदान तथा वडा नं. ५ मा रहेको महेन्द्र माविको मैदानमा सञ्चालन भइरहेको छ ।

सुदूरपश्चिमका नौ वटै जिल्लाबाट आएका करिब एक हजार खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलप्रेमीहरूको उपस्थितिले अहिले डडेल्धुराको वातावरण खेलमय बनेको छ । जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लामा खेलकुदसँगै उत्साह र चहलपहल थपिएको स्थानीयको भनाइ छ ।