एमपिडिएसमा संस्थागत विकास तालिम, सुशासनदेखि एआई आधारित डिजिटल मार्केटिङसम्म प्रशिक्षण

Image

डडेल्धुरा । गैरसरकारी संस्था बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराका कार्यसमिति, व्यवस्थापन टोली तथा कर्मचारीहरूका लागि दुई दिने संस्थागत विकास तालिम दिईएको छ।

डडेल्धुराको रातो गुराँस रिसोर्टमा सञ्चालन भएको तालिमको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति हेमराज पन्तको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष अशोक बमको अध्यक्षतामा गरिएको थियो ।

संस्थागत सुशासन, रणनीतिक योजना, नेतृत्व विकास तथा व्यवस्थापकीय सीप अभिवृद्धिमार्फत संस्थालाई प्रभावकारी, पारदर्शी र दिगो बनाउने उद्देश्यकासाथ तालिमको आयोजना गरिएको संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर महरले जानकारी दिए।

तालिममा संस्थाका वरिष्ठ कर्मचारी, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेतृत्व विकास, सञ्चार तथा समन्वय, समूह कार्य, द्वन्द्व तथा जोखिम व्यवस्थापन, परियोजना व्यवस्थापन लगायत उच्च कार्यसम्पादन क्षमता सुदृढ गर्ने विषयमा प्रशिक्षण र छलफल गरिएको थियो ।

पहिलो दिन स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक धनबहादुर भण्डारीले कार्यक्रम सञ्चालन तथा उद्देश्यबारे जानकारी गराएका थिए भने कार्यकारी निर्देशक महरले संस्थाको नीति, उद्देश्य र कार्यक्षेत्रबारे प्रस्तुतीकरण दिएका थिए।

मुख्य सहजकर्ता प्रा. डा. पन्तले संस्थागत विकासको अवधारणा, वर्तमान आवश्यकता तथा संगठनात्मक सफलताका लागि नेतृत्व र सकारात्मक सोचको महत्वबारे प्रशिक्षण दिएका थिए । त्यस्तै भर्चुअल माध्यमबाट सहभागी सहजकर्ता बिनोद उपाध्याय ले संस्थागत सुशासन, जवाफदेहिता, गुनासो सुनुवाइ संयन्त्र, जोखिम तथा परिवर्तन व्यवस्थापनका विषयमा सहजीकरण गरेका थिए।

पहिलो दिनको अन्तिम सत्रमा लोकेन्द्र प्रसाद पन्तले संस्थाका फर्म तथा फारामसम्बन्धी प्राविधिक जानकारी दिएका थिए ।

तालिमको दोस्रो दिन अनुगमन तथा मूल्याङ्कन रूपरेखा, कर्मचारी वार्षिक कार्यसम्पादन योजना तथा आपतकालीन प्रतिकार्य योजनासम्बन्धी विषयमा शिव नारायण चौधरी र विष्णु शर्माले प्रस्तुतीकरण गरेका थिए ।

यसैगरी, कृत्रिम बौद्धिकता (एआई) आधारित डिजिटल मार्केटिङ तथा आधुनिक विकासका लागि स्मार्ट रणनीतिबारे अनिल शाहले प्रशिक्षण दिए । कर्मचारी क्षमता विकास, कार्यस्थल सुरक्षा तथा सुरक्षासम्बन्धी विषयमा आत्मराम भट्टराईले सहजीकरण गर्ने कार्यक्रम रहेको थियो ।

तालिमको अन्तिम चरणमा संस्थाको नीति तथा नियमावली पुनरावलोकन, आगामी कार्ययोजना निर्माण तथा समापन सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ।

संस्थाका अनुसार तालिमले संस्थागत प्रभावकारिता अभिवृद्धि गर्नुका साथै व्यावसायिक, उत्तरदायी र सुरक्षित कार्यसंस्कृति विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।