डडेल्धुरा । अजयमेरु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ५ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष बसन्ती पालले कुल आय तथा व्यय बराबरको बजेट प्रस्तुत गर्दै विकास, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको बताइन्।
प्रस्तुत बजेटअनुसार आन्तरिक राजस्वबाट ५० लाख रुपैयाँ, अन्य स्रोतबाट २ करोड ५१ लाख १५ हजार रुपैयाँ, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ करोड ५० लाख रुपैयाँ तथा राजस्व बाँडफाँडमार्फत ८ करोड ५५ लाख ५६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै संघीय सरकारबाट सशर्त चालु अनुदानतर्फ २२ करोड ७९ लाख रुपैयाँ र पुँजीगत अनुदानतर्फ ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७४ लाख ८५ हजार रुपैयाँ, राजस्व बाँडफाँड २६ लाख २५ हजार रुपैयाँ तथा सशर्त अनुदान १ करोड ६० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ।
यसैगरी प्रदेश सरकारबाट समपूरक अनुदान ९७ लाख ४१ हजार रुपैयाँ, विशेष अनुदान ६६ लाख ५० हजार रुपैयाँ तथा संघीय सरकारबाट विशेष अनुदान ७० लाख रुपैयाँ र समपूरक अनुदान ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
खर्चतर्फ चालु खर्चका लागि ९ करोड ८२ लाख ९६ हजार रुपैयाँ, विविध तथा पुँजीगत खर्चका लागि ११ करोड २४ लाख ८५ हजार रुपैयाँ तथा संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानमार्फत सञ्चालन हुने कार्यक्रमका लागि २७ करोड ९७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेट वक्तव्यमा स्थानीय सरकार गठनपछिका नौ वर्षमा गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू पनि समेटिएका छन्। गाउँपालिकाका प्रत्येक नागरिकलाई आधा घण्टाभित्र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको, गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको, कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको तथा ऐतिहासिक अजयमेरुकोट संरक्षण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल अघि बढाइएको उल्लेख गरिएको छ।
उपाध्यक्ष पालले जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकबाट प्राप्त सुझावका आधारमा बजेट तयार गरिएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनबाट सुशासन, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल हुने विश्वास व्यक्त गरिन्।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय विकासलाई थप तीव्रता दिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ।












