डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष ज्ञानु सेटी देउवा ले गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्की को अनुमतिमा बजेट प्रस्तुत गर्दै जनअपेक्षा सम्बोधन गर्ने गरी योजना तथा कार्यक्रम समेटिएको बताइन्।
उपाध्यक्ष देउवाले प्रस्तुत बजेटले गन्यापधुरावासी आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीहरूको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिन्। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा आर्थिक समृद्धिसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
कुल बजेटमध्ये चालुतर्फ २९ करोड ५८ लाख ८६ हजार ९ सय रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८० लाख १ सय रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले हालसम्म २६५ किलोमिटर सडक निर्माण सम्पन्न गरेको जनाएको छ। ‘एक घर–एक धारा’ अभियानअन्तर्गत ७५ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी सेवा विस्तार भइसकेको छ भने १५० रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाइएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले अबको बजेट ग्रामीण पूर्वाधार विस्तारसँगै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने दिशामा केन्द्रित रहेको बताउनुभयो । उहाका अनुसार नागरिकले सहज र छिटो सेवा प्राप्त गर्न डिजिटल सुशासनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
उनले बजेटले हरेक क्षेत्र, समुदाय र वर्गको प्रतिनिधित्व गर्दै गाउँपालिकाभित्र सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरिन्। साथै बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण गाउँपालिकावासीको साथ र सहयोग आवश्यक रहेको बताइन्।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने, सेवा प्रवाहलाई सहज बनाउने तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ बजेट ल्याएको जनाएको छ।
उपाध्यक्ष देउवाले बजेट सफल कार्यान्वयनमा सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्दै समृद्ध गन्यापधुरा निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिइन्।












