खड्का राज्यमन्त्री हुँदा विनियोजन भएको बजेटले फेरिँदै गन्यापधुराका विद्यालय, पूर्वाधार निर्माणले शिक्षामा नयाँ आशा

Image

डडेल्धुरा । केही वर्षअघिसम्म जीर्ण घेराबार, सीमित पूर्वाधार र आवश्यक सुविधा अभावका बीच सञ्चालन भइरहेको गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यमिक विद्यालय अहिले नयाँ स्वरूपमा देखिन थालेको छ। विद्यालय वरिपरि पक्की घेरबार निर्माण भइरहेको छ, परिसर व्यवस्थित बन्दै गएको छ र नमुना विद्यालयका रूपमा थप पूर्वाधार विकासको कामले गति लिएको छ। यी परिवर्तनको आधार बनेको छ प्रदेश सरकारबाट विनियोजन भएको बजेट।

चालु आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत डडेल्धुराका विद्यालय, खेलमैदान, शौचालय तथा सीपमूलक कार्यक्रमका लागि २० करोड २५ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो। त्यही बजेटअन्तर्गत भुवनेश्वरी माध्यमिक विद्यालयमा ५० लाख रुपैयाँको लागतमा पक्की घेरबार निर्माण भइरहेको छ । जुन अहिले सम्पन्नताको अन्तिम चरणमा पुगेको छ।

शनिबार सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा नेपाल कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक सरस्वती खड्का सामाजिक विकास कार्यालय डडेल्धुराका प्राविधिकसहित विद्यालय पुगिन । उनले निर्माण कार्यको स्थलगत अनुगमन गर्दै गुणस्तरीय निर्माण, मापदण्डको पालना र समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिईन ।

नमुना विद्यालय बनेपछि थपियो अवसर

यस वर्ष भुवनेश्वरी माध्यमिक विद्यालय प्रदेश सरकारको नमुना विद्यालय कार्यक्रममा छनोट भएको छ। नमुना विद्यालय बनेसँगै पूर्वाधार विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप २० लाख रुपैयाँ प्राप्त भएको छ।

पूर्व राज्यमन्त्री खड्काले सरकारी बजेटको वास्तविक उपलब्धि भौतिक संरचनामात्र नभई त्यसले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबाट मापन हुने बताउँदै प्राप्त बजेटको अधिकतम सदुपयोग गर्न आग्रह गरिन ।

उनले भनिन्, पूर्वाधार निर्माण गुणस्तरीय हुनुपर्छ। सरकारी लगानीको प्रतिफल विद्यार्थी र समुदायले महसुस गर्न सक्ने गरी काम हुन आवश्यक छ।

पूर्वाधारसँगै सुधारिँदै शैक्षिक नतिजा

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष नरेन्द्रकुमार भट्टका अनुसार पूर्वाधार सुधारसँगै विद्यालयको शैक्षिक वातावरण पनि सकारात्मक बन्दै गएको छ।

२०८३ सालको एसईई परीक्षामा विद्यालयबाट सहभागी २७ विद्यार्थीमध्ये १८ जना उत्तीर्ण भएका छन् भने ग्रेड सुधार परीक्षापछि थप पाँच जना सफल हुने अपेक्षा गरिएको छ।

भट्टका अनुसार कक्षा १० का विद्यार्थीका लागि गत मंसिरदेखि छात्रावास सञ्चालन गरिएपछि अध्ययनमा निरन्तरता र अनुशासन बढेको छ । जसको प्रत्यक्ष प्रभाव नतिजामा देखिएको छ।

उनी भन्छन, सीमित स्रोतसाधनका बाबजुद शिक्षक, अभिभावक र विद्यालय प्रशासनको सहकार्यले राम्रो परिणाम आएको छ। अब पूर्वाधार थपिएसँगै विद्यालय अझ प्रभावकारी बन्ने विश्वास छ।

जिल्लाभरि विद्यालय पूर्वाधार विस्तार

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मिनबहादुर लामिछानेका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका ४९ विद्यालयमा दुईदेखि चार कोठे भवन, घेरबार लगायतका संरचना निर्माणका लागि १० लाखदेखि ४५ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको थियो।

नमुना विद्यालयको गुरुयोजनाअनुसार सबैभन्दा बढी ५५ लाख रुपैयाँ भुवनेश्वरी माध्यमिक विद्यालय र भागेश्वर माध्यमिक विद्यालयलाई उपलब्ध गराइएको थियो। त्यस्तै गन्यापधुरा–२ स्थित गणेश माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

लामिछानेका अनुसार कार्यालयमार्फत सञ्चालित अधिकांश योजना सम्पन्नताको अन्तिम चरणमा पुगेका छन् भने तीनवटा योजना निर्माणको काम मात्रै अघि बढेको थिएन ।